मंसिर-२८, परासी,वृजराज कुशवाहा,
नवलपरासीको निर्वाचन क्षेत्र नं ६ मा १४ वटा गाविस छन् र त्यहाँ झण्डै दुई लाखको बसोवास छ । तर कुनै पनि प्राथमिक स्वास्थ्य केन्द्र नभएका कारण बिरामी हुँदा उपचार गर्न त्यहाँका बासिन्दा कि त सदरमुकाम परासी जान्छन् कि त भारत जानुपर्ने हुन्छ । निक्कै कठिनाईका साथ बांचीरहेका यहांका स्थानीयवासीन्दा भन्छन्— “भएको एउटा प्राथमिक स्वास्थ्य केन्द्र पनि सरकारले अर्कै निर्वाचन क्षेत्रमा सारेर हामीसंग सौताको व्यवहार गरेको छ ।”
नवलपरासी जिल्लाको निर्वाचन क्षेत्र नं ६ भारतीय सीमासंग जोडिएको क्षेत्र हो । भारतको उत्तर प्रदेश र विहार राज्य यसको छिमेकी प्रदेश हो । सीमा जोडिएको क्षेत्रबाट भारतीय बजारमा आवतजावत गर्नका लागि पैदल यात्रु आउने जाने गरे पनि चारपांग्रे सवारी साधनलाई भारत सरकारले दिएको छैन । एम्बुलेन्स समेत मुल नाका बाहेकको अन्य बाटोबाट भारत छिर्न दिईदैन । महेशपुरमा रहेको एकमात्र मूलनाका क्षेत्र कै पुछारमा पर्ने भएकाले स्थानीयवासीका लागि उपयोगी छैन । कारण सीमावर्ती भारतीय बजारमा पनि उपचारका लागि सुविधा सम्पन्न अस्पताल छैन ।
गुठी सुर्यपुरा गाविसका निवर्तमान गाविस अध्यक्ष रामऔतार कोईरी भन्छन्—“यहांका स्थानीयवासीन्दा उपचार गर्नका लागि कि त १५० किलो मिटर टाढा सिमापारीको भारतीय बजार गोरखपुर जान्छन् कि त ५० किलोमिटर धाएर सदरमुकाम परासी पुग्छन् । उनी अगाडि थप्छन, कुकुर र सर्पले टोकेमा पनि उपचारका लागि स्थानीय क्षेत्रमा कुनै स्वास्थ्य केन्द्र छैनन् । जसले यस क्षेत्रमा वर्षेनी दर्जनौं मान्छे उपचार नपाएर मर्ने गरेका छन् ।”
सुस्तादेखि महेशपुरसम्मको यस क्षेत्रमा एउटै प्राथमिक केन्द्र त छैन नै, भएको एउटा एम्वुलेन्स समेत चल्दैन । स्थानीय अनिल यादव भन्छन्— “प्राथमिक स्वास्थ्य केन्द नभएको फाइदा भने अयोग्य, सिकारु र झोले डाक्टरहरुले उठाइरहेका छन् । उपचारको नाममा ठुलो आर्थिक शोषण विद्यमान छ । त्यसको निगरानी समेत गरिएको छैन ।”
पहिले यस क्षेत्रको जगन्नाथपुरमा एउटा प्राथमिक स्वास्थ्य केन्द्र थियो । तर २०४१ सालमा बाढीको बहानामा कर्मचारीहरुले राती नै फर्निचर सहित औषधि सारेर क्षेत्र नं ५ मा पर्ने सेमरी पु¥याए । त्यसपछि न स्वास्थ्यकर्मी फर्किए न त प्राथमिक स्वास्थ्य केन्द्र नै फर्कियो । निवर्तमान गाविस अध्यक्ष रामऔतार कोईरी भन्छन् —“अपायक मानीरहेका कर्मचारीहरु बाढीको नाममा प्राथमिक स्वास्थ्य केन्द्र नै उठाएर लगे, प्रशासन मौन रह्यो, जनतासंग ठुलो विभेद भयो तर अहिलेसम्म त्यो प्राथमिक स्वास्थ्य केन्द्र फिर्ता आएन, न त आउने लक्षण नै देखिन्छ ।”
बिरामी भएपछि कि त ५० किलोमिटरमा रहेको सदरमुकाम आउनु वा भारतीय अर्धसैनिक सुरक्षाबल एस.एस.बी.को सास्ती खेप्दै भारतीय शहर जानुको पीडा कम छैन । नागरिकको पीडाबाट बर्षौं बेखबर बनेको जिल्ला जनस्वास्थ्य कार्यालयको त्यहाँ प्राथमिक स्वास्थ्य केन्द्र राख्नेतिर ध्यान पुगेको छैन । जिल्ला जनस्वास्थ्य कार्यालय नवलपरासीका प्रमुख अरुण कुमार महतो भन्छन् —“त्यो अहिलेसम्म ओझेलमा परेको छ, प्राथमिक स्वास्थ्य केन्द्र स्थापनाका लागि नवलपरासीबाट अहिलेसम्म माग गरिएको छैन । यसको कारणले कुनै पनि काम अगाडि बढिसकेको छैन । यसका लागि मैले निर्वाचन क्षेत्र नं. ६ का सांसदलाई समेत ताकेता गरेको छु, र मन्त्रालयमा माग गर्न वहांलाई झक्झक्याएको छु ।”
प्राथमिक तथा आधारभूत स्वास्थ्यलाई नागरिकको मौलिक हकका रुपमा सुनिश्चित गर्दै लैजाने वर्तमान सरकारको लक्ष्य छ । नयां नेपाल स्वस्थ नेपाल भनेर बजेटमै घोषणा गरेको सरकारले ग्रामिण स्वास्थ्यमा लगानी बढाउने बताएको छ । र पनि नेपाल सरकारको राष्ट्रिय नीति र सरकारी प्रतिवद्धता अनुसार आफ्नो ठाउँमा प्राथमिक स्वास्थ्य केन्द्र बन्ने नवलपरासीको क्षेत्र नम्वर ६ का बासिन्दाको आशा छ ।
- Advertisement -
- Advertisement -