परासी, ६ असोज – चाडपर्व नजिकिदैं गर्दा नवलपरासी जिल्लामा चोरीका घटना बढेका छन् । चोरीका घटना सुन पसलदेखि किराना पसलसम्ममा भएका छन् । पछिल्लो पटक मोटरसाईकल चोरीका घटना पनि बढेको प्रहरीले जनाएको छ । स्कुलमा रहेका कम्प्युटर र अन्य विद्युतिय सामाग्री चोरीको बिगिबिगी पनि उत्तिकै बढेको छ । चोरीका घटना बढेपछि प्रहरीले निगरानी बढाएको जनाएको छ । त्यसरी चोरी कार्यमा संलग्न व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेपनि घटनामा भने कमि आउन सकेको छैन । चोरी गरेका अभियुक्तहरु केही दिनमा धरौटीमा छुट्ने गरेका कारण घटनामा कमि आउन नसकेको बताइएको छ । जिल्ला प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद चौधरीका अनुसार एक वर्षको अवधिमा २८ वटा चोरीका घटना भएका छन् । गत साउनदेखि भदौसम्म भएका घटनामा ३५ जनालाई मुद्दा चलाइएको छ । दुई वटा घटनाबाहेकका सबै अभियुक्तहरु पक्राउ परेका छन् । जिल्लामा चोरी कार्य हुन नदिन पैदलदेखि सवारीसाधन र सादा पोशाकका प्रहरी खटाएर निगरानी बढाइएको प्रहरी उपरीक्षक चौधरीले बताउनुभयो । यसैबीच तीन महिनाको अवधिमा नवपरासीमा ११ वटा मोटरसाईकल चोरी। भएको जिल्ला प्रहरी कार्यालय मुद्दा फाँटका प्रहरी नायब निरीक्षक(सई) टिकाराम पोखरेलले बताउनुभयो । उहाँका अनुसार चोरी कार्यमा सरावल, देवगाँव, रामग्राम नगरपालिका, सनई, बडहरादुबौलिया, कुडिया र त्रिवेणी क्षेत्रका व्यक्तिहरु छन् । केही भारतीय व्यक्तिहरु पनि छन् । मोटरसाईकल भारततर्फ लैजाने र पुन ः नेपालमै सस्तो दरमा बिक्रि गर्ने गरेको पाइएको छ । केहीले नयाँ खरिद गर्ने भन्दै सो रुममै पुगेर परीक्षण गर्ने बहानामा चोरी गर्ने गरेको फेला परेको छ ।