भाद्र ३१ । रोटरी क्लब अफ नारायणगढले चेपाङ बालबालिकाका लागि खाद्यान्न सहयोग गरेको छ । क्लबले रत्ननगर १० स्थित मंगलपुरमा रहेको गामबेशी चेपाङ संरक्षण केन्द्रमा खाद्यानन सहयोग गरेको हो । राष्ट्रिय बालदिवसको अवसरमा क्लबले २५ वोरा चामल , आलु , तेल , प्याज सहयोग गरेको हो । क्लबका कार्यसमिति र पूर्व अध्यक्ष सहितको टोली चेपाङ संरक्षण केन्द्रमा पुगी सहयोग हस्तान्तरण गरेका थिए । रोटरी क्लब अफ नारायणगढका अध्यक्ष संञ्जय श्रेष्ठले गामवेशी चेपाङ संरक्षणको सामाजिक अभियानमा आफुहरु सहभागी भएको बताउनुभयो । केन्द्रमा खाद्यान्न अभाव भएको सामाजिक संजाल फेसबुकबाट थाहा पाएपछि क्लबले तत्काल बैठक बसी सहयोग गरेको हो । क्लबका पूर्व अध्यक्ष विज्ञानलाल श्रेष्ठले खाद्यान्न अभावले मन छोएको हुनाले सबै मिलेर सहयोग गरेको बताउनुभयो । त्यस्तै कार्यक्रम संयोजक सुमन कुमार श्रेष्ठले चेपाङ बालबालिकाको लागि थप कार्यक्रम गर्ने बताउनुभयो ।केन्द्रका अध्यक्ष केपी किरण शर्माले खाद्यान्न अभावले समस्या रहेको भन्दै क्लबले गरेको सहयोगले ठुलो राहत भएको बताउनुभयो । गामबेशी चेपाङ संरक्षण केन्द्रमा १२५ जना चेपाङ बालबालिका आवासिय सुविदा सहित अध्ययन गरिरहेका छन । आर्थिक अवस्था कमजोर र विद्यालय टाढा भएपछि विद्यालय जान नपाएका चेपाङ बालबालिका आश्रित रहेका छन ।