हरि शर्मा । नवलपरासी,२४ भदौ । हिन्दु राष्ट्र कायम गराउनका लागि दबाब दिन नवलरासीको बर्दघाटमा तीन दिने संयुक्त हिन्दु राष्ट्रिय सम्मेलनको आयोजना गरिएको छ । विश्व हिन्दु महासंघको आयोजनामा सुरु हुन लागेको सम्मेलन भदौ २८ देखि सुरु भई ३० गते सकिने छ । सम्मेलनले धर्म निरपेक्षका विरुद्ध आन्दोलन गर्न संघर्ष समितिसमेत गठन गरेर अघि बढ्ने बताइएको छ । सम्मेलनबारे जानकारी दिन शुक्रबार बर्दघाटमा गरेको पत्रकार सम्मेलनमा विश्व हिन्दु महासंघका पश्चिमाञ्चल क्षेत्रीय सभापति लक्ष्मण थापाले हिन्दु राष्ट्र कायम नभएसम्म संविधान कार्यान्वयन हुन नसक्ने भन्दै एउटै मञ्चबाट धर्म निरपेक्षको विरुद्ध वहस चलाउन साझा मञ्चको रुपमा सम्मेलनको आयोजना गरिएको बताए । सम्मेलनमा हिन्दुसंग सम्बन्धित विभिन्न ८७ संघसंस्थासहित विशिष्ठ व्यक्तिहरु गरि ६ सयबढी प्रतिनिधिहरुको सहभागीता रहने छ । अध्यक्ष थापाकाअनुसार सम्मेलनले संविधान संशोधनमार्फत् हिन्दु राष्ट्र कायम गराउनका लागि दबाब दिन संघर्ष समितिसमेत गठन गरेर आन्दोलन गर्ने छ । महासंघका केन्द्रीय सल्लाहकार डि.बी. अधिकारीले हिन्दु राष्ट्रबारे विभिन्न व्यक्ति र संस्थाका फरक फरक विचारहरु आईरहेकाले तिनै विचार र वहसलाई साझा एजेण्डाको रुपमा तय गरेर अगाडी बढ्न सम्मेलन आयोजना गरिएको जानकारी दिनुभयो ।तीन दिने कार्यक्रमअन्र्तगत भदौ २८ गते सम्मेलनको उद्घाटन हुने छ । भने २९ गते हिन्दु राष्ट्र सम्बन्धि विशिष्ट व्यक्ति र संस्थाहरुको बन्द सत्र चलने छ । सम्मेलनको मुक्तिनाथ पिठाधीश स्वामी कमलनयनाचार्यले गर्ने छन् । सम्मेलनमा स्वामीहरु ज्ञानानन्द सरस्वतीजी र श्रीनिवासको सहभागिता रहने छ त्यसैगरी विशिष्ट व्यक्तिहरुमा पूर्वमन्त्रीहरु कमल थापा, खुमबहादुर खड्का, मोदनाथ प्रश्रित, पूर्वसेनापति रुक्मागत कटुवाललगायत सभासदहरु,पूर्वराज्यमन्त्रीहरुको सहभागिता रहने छ । धार्मिक संस्थाहरुतर्फ ब्राम्ह्ण समाज, क्षेत्री समाज, दशनामी समाज, ठकुरी महासंघ,बौद्ध समाजलगायतको सहभागिता रहने छ । धार्मिक सहिष्णुतासहित सनातन हिन्दु राष्ट्रको माग गर्दै भदौ ३० गते ‘बर्दघाट घोषणा पत्र जारी गरेर’ सम्मेलन सकिने आयोजक संस्थाले जनाएको छ ।