परासी,२२ भदौ । सदरमुकाम परासीमा सिसी कयामरा जडान गरिएको छ । जिल्लाको दोस्रो प्रमुख बजार कावासोतीमा पनि जडानको तयारी भइरहेको छ । दुवै बजार क्षेत्रमा स्थानीय व्यवसायीहरुले क्यामरा जडानका लागि आर्थिक सहयोगमा गरेका हुन । बजार क्षेत्रमा हुने गतिविधिहरुलाई निगरानीमा राख्दै सुरक्षा अवस्थालाई सहज बनाउन सिसी क्यामरा जडान गर्न लागिएको व्यवसायीहरुले बताएका छन् । परासी सदरमुकाममा स्थानीय व्यवसायीहरुले गठन गरेको सुरक्षा दृष्टि सहयोग समितिले सिसी क्यामरा जडान गरेको हो । त्यसरी जडान गरिएका स्थानमा बुद्धचोक, महेशपुर चोक, बाईपास रोड, मञ्जरीया चोक, बैंक रोड, पोखरापाली र सेतोपुल (हाटबजार छेउ) रहेको मासमितिका अध्यक्ष बैजनाथ जयसवालले बताए । चार वर्ष अघि उद्योग वाणिज्य संघको पहलमा बजार क्षेत्रमा ११ लाख खर्च गरेर सिसी क्यामरा जडान गरिएको थियो । तर जडान गरेको एक महिनामै बिग्रेपछि सिसिटिभी मर्मत हुन सकेको थिएन । तिनै पूराना क्यामराहरुलाई मर्मत गरेर अहिले सञ्चालनमा ल्याइएको जयसवालले जानकारी दिए । मर्मत गर्न चार लाख खर्च हुने छ । जयसवालका अनुसार जडान खर्च व्यवसायीहरुबाट संकलन गरिने छ । सिसिटिभीमार्फत बजारको गतिविधिलाई प्रहरीको कन्ट्रोल कक्षमा राखिएको एलसिडिबाट निगरानीमा राखिएको छ । यसैबीच कावासोतीका मुख्य पाँच स्थानमा सिसी क्यामरा जडान गर्न लागिएको व्यवसायीहरुले जनाएका छन् । बजार क्षेत्रमा चोरीका घटना हुनेक्रम बढ्न थालेपछि क्यामरा जडान गर्न लागिएको हो ईलाका प्रशासन कार्यालयसहित, नगरभित्रका सर्वदलिय संयन्त्र, प्रहरीलगायत विभिन्न संघसंस्थाहरुको बैठकले सिसी क्यामरा जडान गर्ने निर्णय गरेको हो । क्यामरा जडान पछि नगर क्षेत्रको शान्ति सुरक्षामा सहज हुने छ भने चोरी र अन्य अपराधिक घटनामा कमि आउने विश्वास लिइएको छ ।