27 C
Kathmandu
Wednesday, August 4, 2021

उद्योगको प्रदुषण विरुद्ध जनता, पानी निकासको पाइप काटियो

- Advertisement -
- Advertisement -spot_imgspot_img

वृजराज कुशवाहा। भदौ १५। नवलपरासीको प्रतापपुर गाविस गंगापूरमा संचालनमा रहेको ईन्दिरा सुगर्स एण्ड एग्रो ईण्डष्ट्रिज प्रा. लि. मानव जिवनलाई हानी गर्ने रसायनयुक्त प्रदुषण फैलाएको विषयमा विवादमा तानिएको छ । उद्योग परिसरमा यसवर्षदेखि डिष्टिलरी पनि संचालन गरेपछि डिष्टिलरीको हानीकारक फोहोर पानी यत्रतत्र बगाएकोपछि फैलिएको दुर्गन्धका कारण चौतर्फी विरोध हुन थालेपछि उद्योग विवादित बनेको हो ।
बारम्बारको आग्रह पश्चात नटेरेपछि आक्रोसित स्थानीयवासीहरुको एक समुहले उद्योगको फोहोर पानी बग्ने निकास सधैंका लागि थुनी दिएका छन् । गूठी परसौनी र गूठी सुर्यपुरा गाविसको पिपरपाती, बैरिया र डिबनी गाउंबाट आएका सयौं संख्याका आक्रोसित स्थानीयवासीहरुले उद्योगले बगाउदै आएको फोहोर पानीको पाईप आज विहानै काट्नुका साथै सो निकासमा सिमेन्ट र गिट्टीको मिक्सचर हालेर थुनि दिएका छन् ।
बस्ती भित्र उद्योग जडान गरेको र प्रषोधित नै नगरिकन हानीकारक रसायन मिसिएको पानी जिउंदो नदीमा बगाउदा पुरै बस्ती नै जोखिममा परेको प्रदुषण पीडित संघर्ष समिति नवलपरासीका संयोजक विनोद यादवले बताए । उनले अगाडि भने हानीकारक रसायनकै कारण हैण्डपाईपका पानी गन्हाएको छ, खेतबालीमा लगाएका सयौं किसानका धान, उखु, केराबालीका साथै ठुल्ठुला रुखहरु धमाधम मर्न थालेका छन् ।
उद्योगले प्रदुषित पानी निर्मलीकरणनै नगरिकन वर्षाैंदेखि सोझै बाहिर बगाएका कारण चोर्निया खोलाका प्राकृतिक स्थानीय माछाहरु मरेका छन् । जसले ठेक्कामा दिदै आएको गाविस कार्यालय गूठी परसौनीको आय समेत प्रभावित भएको छ । गोही समेत मरेको स्थानीयको दावी छ । गएको साउन ७ गते रातीमा डिष्टिलरीको फोहोर पानी सोझै किसानको खेतमा बगाएपछि किसानको लाखौंको बालीनाली क्षति हुन पुगेको उद्योग कर्मचारी प्रहलाद यादवले स्विकार गरेका छन् ।
उता विगत एक महिनादेखि आन्दोलित पीडित किसानहरुको आन्दोलनलाई कमजोर बनाउन उद्योगले लगाएको झुठा मुद्दामा पीडित किसानहरु आज सफाइ पाएका छन् । उद्योगले आफ्ना कर्मचारी लगाएर ५ जना किसानमाथि झुठा मुद्दा लगाएको थियो ।
जिल्ला प्रशासन कार्यालय नवलपरासीमा भदौ ७ गतेको छलफलपछि फर्कने क्रममा किसानले एक कर्मचारीलाई कुटपिट गरेको मुद्दा लगाईएको थियो । उद्योगका कर्मचारी र आन्दोलनकारी पीडित किसानहरु एकले अर्कालाई हस्तक्षेप नगर्ने शर्तमा जिल्ला प्रहरी कार्यालयमा आज मिलापत्र गरिएको छ ।
ईन्दिरा सुगर्स विरुद्ध जिल्ला प्रशासन कार्यालय नवलपरासीमा उजुरी दर्ता गराई पीडित किसानहरुले डिष्टिलरी बन्द गर्न दबाव दिदै आएका छन् । उद्योगले फैलाएको जीवन नाशक हानिकारक ग्यास, फोहोर पानी र रसायनयुक्त प्रदुषणले जीवन जोखिममा परेको भन्दै स्थानीयहरु विगत एक महिनादेखि आन्दोलित छन् । साउन २७ गतेका दिन जिल्ला प्रशासन कार्यालय नवलपरासीमा भएको सहमतिमा भदौ ७ गतेका दिन उद्योग स्थापना गर्दा उद्योगले पालन गर्नुपर्ने नेपाल सरकारका पुर्वशर्तहरुको प्रतिलिपी लिई उद्योगपति स्वयम उपस्थित हुने सहमति भएको थियो । तर भदौ ७ गते उद्योग पक्षले दुबै शर्त पालना नगरेका कारण उद्योग विवादित बन्दै गएको छ

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्