24.1 C
Kathmandu
Thursday, March 28, 2024
Flowers in Chania

बजार अनुगमन स्वागतयोग्य तर नियमित होस्

- Advertisement -Flowers in Chania

laxmiलक्ष्मीप्रसाद पंगेनी
नेपाली बजार बेथितिले भरिएको कुरा सबैलाई थाहा भएकै कुरा हो । तर नियमित अनुगमनको अभावले आम उपभोक्ताहरु कालो बजारी र महंगीको चेपुवामा पर्न बाध्य छन् । तरकारी पसल ,किराना पसल ,हार्डवेयर पसल ,कपडा पसल ,सुनचाँदी पसल ,यातायात क्षेत्र ,औषधि पसल ,डिपार्टमेन्टल स्टोर,होटल,मासु पसल, बिभिन्न उद्योग ,वितरक ,संचार लगायतका क्षेत्रहरुमा अनियमितता तथा बेथिति रहेको विगतको अनुगमन र अनुभवले देखाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कालो बजारी तथा महंगी नियन्त्रणको लागि वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई विशेष निर्देशन दिएपछि बजार अनुगमनले फेरी चर्चा र गति लिएको छ । विगतको अनुभवलाई हेर्ने हो भने विशेषगरी दशैं तिहार जस्ता ठुला चाड पर्वको समयमा मात्र अनुगमन हुने र त्यसपछिको समयमा खासै अनुगमन नहुने परिपाटी रहेको छ । तर यसपल्ट भने नेपालीहरुको मुख्य चाडबाड आउनु अगावै बजार अनुगमनलाई सरकारले प्राथमिकतामा राखेर तदारुकता देखाएकोले नेपाली उपभोक्ताहरु आशावादी देखिन्छन् ।
अनुगमन फितलो हुने,अनियमितता तथा कालो बजारी गरेको भेटिए पनि दोषीलाई कारवाही नहुने हुँदा कालोवजारी,महंगी तथा मिसावट गर्नेहरुको संख्या घट्नुको साटो दिनप्रतिदिन बढ्दो छ । मुख्य राजमार्गहरुका छेउमा रहेका होटलहरुमा कम गुणस्तरको खाना उच्च मुल्य तिर्न यात्रुहरु बाध्य छन् भने सडक छेउमै रहेका किराना पसल तथा कोल्डस्टोरहरुले रु.२०को बोतलको पानी रु.२५–३०,रु.४०को आलु चिप्स (लेज)रु.५०–६०, रु.२०को चाउचाउ रु २५–३०,रु.६५को सानो कोक फेन्टा रु.९० ,रिचार्ड कार्डमा रु.५–१० अतिरिक्त रकम यात्रुहरुबाट असुली रहेका छन् । यात्रा गर्दा यस्ता सामग्रीहरु अनिवार्य भएको हुँदा यात्रुहरु चुपचाप चर्को मूल्य तिर्न बाध्य छन् । कपडा पसल तथा फेन्सीमा रु.३ सयको कपडा रु.२ हजार,मिठाइ पसलमा मिसावट,यातायातमा सिण्डिकेट,यात्रुबाट बढी भाडा असुल्ने,चानचुन पैसा फिर्ता नदिने, शिक्षामा चर्को शुल्क असुल्ने,अस्पतालमा लापरबाही,कार्यालयमा भ्रस्टाचार,इन्धनमा मिसावट,मासुमा मिसावट,तरकारीमा विषादी ,उद्योगमा कम तौल तथा कम गुणस्तरको सामान उत्पादन, व्यापारीले भ्याट बिल नकाट्ने ,मुल्य तथा उत्पादन मिति नराख्ने,म्याद गुज्रिएका सामानको बिक्रि गर्ने जस्ता नेपाली वजारका मुख्य बेथितिहरु हुन् । सबै क्षेत्रको नियमन गर्ने छुट्टाछुट्टै सरकारी निकाय भए पनि झारो टार्ने र चर्चा आउने उद्देश्यले मात्र काम गर्ने प्रवृति छ । यसको अन्त्य हुनु पर्छ । नयाँ सरकार आउँदा सचिवहरुलाई बोलाएर बजार अनुगमन  गर्न निर्देशन दिने ,केहीदिन काम गरे जस्तो गर्ने र बिस्तारै सेलाउदै जाने प्रवृतिले कालो बजारी तथा महंगीले प्रशय पाएको देखिन्छ  । स्थायी सरकार मानिने कर्मचारी आफ्नो काम नियमित गर्ने तथा सरकार फेरवदललाई महत्व नदिई विद्यमान कानुन अनुसार दोषीलाई कारवाही  गर्दै जाने र अनुगमनलाई अभियानकै रुपमा निरन्तर गर्ने हो भने बजारमा हुने बेथितिहरु आफै क्षीण भएर जान्छ ।
त्यसो त उपभोक्ता पनि आफै सचेत हुन जरुरी देखिन्छ । आफुले लिने सामानको उत्पादन मिति,तौल,मूल्य राम्रोसंग हेर्ने ,जहाँ पायो त्यही सामान नकिन्ने ,आफुले किन्ने सामानको मूल्य पहिल्यै सोध्ने र महंगो लागे नकिन्ने ,सामानको बिल लिने,कसैले कालो बजारी गर्दैछ भने सम्बन्धित निकायमा खबर गर्ने जस्ता कार्य उपभोक्ताहरु गर्न सके पनि बजारको बेथिति केही हद सम्म भएपनि कम हुने विश्वास गर्न सकिन्छ । कालो बजारी,महंगी तथा बेथितिको अन्त्यको लागि उपभोक्ता सचेतना सबै भन्दा ठुलो हतियार हो । सरकारले आम उपभोक्तालाई सचेतना मुलक कार्यक्रम संचालन गर्दै बजार अनुगमनलाई निरन्तरता र दोषीलाई कडा कारवाही गर्ने हो भने नेपाली बजारमा सुशासन अवस्य कायम गर्न सकिन्छ ।


- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्