8.1 C
Kathmandu
Flowers in Chania

महत्वपूर्ण वन्यजन्तुको अखेटोपहारको नमुना सङ्कलन र ‘बारकोडिङ’ सकियो

- Advertisement -

चितवन, असार २०

अखेटोपहारको केन्द्रीय भण्डारणका रुपमा लिइएको चितवन राष्ट्रिय निकुञ्जको कसरा र सशस्त्र वन रक्षक तालिम केन्द्र टिकौलीमा रहेका अखेटोपहारको नमुना सङ्कलन र ‘बारकोडिङ’ गर्ने कार्य सम्पन्न भएको छ । संरक्षणसँग सम्बन्धित विज्ञ र सुरक्षा निकायको संयुक्त टोलीले दुवै ठाउँको नमुना सङ्कलन र बारकोडिङ गर्ने कार्य सम्पन्न गरेको हो ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलका अनुसार अखेटोपहारबाट लिइएको नमुनालाई सिसाको ट्युबमा सिलिका जेल राखेर सुरक्षित गरिएको छ । ट्युबमै चिप्स पनि राखिएको छ । यसबाट कति नम्बरको हो भनी पहिचान गर्न सहयोग पुग्ने कँडेलले बताउनुभयो । एकसिङ्गे गैँडाको पाँचवटा खागलाई आवरण पहिचान गर्नका लागि र अध्ययन अनुसन्धानका लागि छुट्टै राखिएको छ ।

dara-ra-khag-460x307महत्वपूर्ण सम्पूर्ण अखेटोपहारलाई बारकोडिङ गरेर सुरक्षित गर्न नेपाली सेना, राष्ट्रिय निकुञ्ज विभाग, वन विभाग, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो, विधि विज्ञान प्रयोगशाला, प्राकृतिक सङ्ग्रहालय स्वयम्भू, राष्ट्रिय प्रकृति संरक्षण कोष र अमेरिकाको युएस फिस एण्ड वाइल्डलाइफ सर्भिसका विज्ञ ११ दिनसम्म खटेका थिए ।

सोही टोलीले काम सम्पन्न गरी प्रतिवेदन पेस गर्दैछ । सोही प्रतिवेदनका आधारमा मन्त्रिपरिषद्ले अखटोपहारको व्यवस्थापनको विषयमा अन्तिम निर्णय गर्नेछ ।

यसअघि काम भइरहँदा वनमन्त्री अग्निप्रसाद सापकोटाले निरीक्षण गरी अखेटोपहारको नमुना सुरक्षित गर्ने र केही अध्ययन अनुसन्धानका लागि सुरक्षित राखेर अन्यलाई नष्ट गरिने बताउनुभएको थियो ।

लामो समयदेखि जम्मा भएका दुर्लभ वन्यजन्तु एकसिङ्गे गैँडाको खाग, पाटे बाघको छाला, जङ्गली हात्तीका दाह्रालगायतका जीवजन्तुका अङ्ग सङ्कलन गरी कसरा र टिकौलीमा भण्डारण गरिएको छ ।

जीवजन्तु मरेमा या मारिएमा उनीहरुका हाड, छाला झिकेर सुरक्षित राख्ने प्रचलन छ । त्यस्तै, तस्करबाट बरामद भएका अङ्ग पनि सङ्कलन हुने गरेका छन् । सरकारले टिकौलीमा विसं २०५४ मा केही अखेटोपहार जलाएर नष्ट गरेको थियो । त्यसपछि जम्मा भएका अङ्ग सुरक्षित भण्डारण गरिएको छ ।

दुवै ठाउँमा गरेर गैँडाका ३६९ खाग, पाटे बाघका ६९ वटा छाला, जङ्गली हात्तीका १८५ वटा दाह्रा, चितुवाका ४९३ छाला, कस्तुरी मृगका ३६ थान बिना लगायतका वस्तु सङ्कलन गरिएको छ ।

बहुमूल्य गैँडाको खागमध्ये २५३ वटा कसरामा छन् भने ११६ वटा टिकौलीमा रहेका छन् । अन्य महत्वपूर्ण वन्यजन्तुको अखेटोपहार पनि भण्डारण गरिएको छ । जसमा विभिन्न जनावरका १११ थरिका अङ्ग भण्डारण गरिएको छ ।

चितवनमा बाघ, गैँडा, चितुवा, भालु, माछा प्रजाति, मृगलगायतका सात प्रकारका जनावरको अखेटोपहार सङ्कलन हुने गरेको छ । जनावरको अखेटोपहार व्यवस्थापनका लागि सरकारले कार्यविधि नै बनाएको छ । –रासस

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्