नवलपरासी, १९ असार ।
नवलपरासीको कावासोती नगरपालिकाको वेभसाइट पछिल्लो सात महिना देखि अपडेट भएको छैन ।
कावासोतीका सर्वसाधारणहरुले समेत नगरपालिकाको गतिविधि, आयव्यय लगायतका गतिविधीहरु सजिलै हेर्न सकिन भन्ने उद्देश्यले खोलिएको वेभसाइट पछिल्लो सात महिनादेखि अपडेट हुन नसकेको हो ।
आफूलाई सूचना चाहिएर वेभसाइट हेर्दा पछिल्लो तीन महिनादेखि अपडेट नगरेको र वेभसाइट निर्माण भएको लामो समय वितिसक्दा पनि कुनै महत्वपूर्ण सूचनाहरु नराखिएको पाइएको पत्रकार खगराज सापकोटाले बताए ।
पछिल्लो पटक गत पुष २०७२ मा भएको नगरपरिषदको फोटो पछि कुनै पनि सामग्री अपलोड वा अपडेट गरेको देखिदैन ।
त्यस्तै कावासोती नगरपालिकाका कार्यकारी अधिकृत मानबहादुर खड्का विदा भएर नयां अधिकृत हरिलाल पुरी आइसकेको भए पनि अझै मानबहादुर खड्का कार्यकारी अधिकृत भनेर राखिएको छ ।
त्यस्तै वेवसाइट निर्माण भएको लामो समय भईसकेको भए पनि त्यसमा कुनै पनि सूचनाहरु, अभिलेख, प्रतिवेदन, नागरिक बडापत्र, संगठनात्मक स्वरुप, वडा प्रोफाइल, नगरपालिकाको निर्णय लगायतका कुनै पनि सूचना तथा जानकारी राखिएको छैन ।
वेभ साइटमा नगरपालिकाको संक्षिप्त परिचय, एउटा कार्यकारी अधिकृतको फोटो, दोस्रो नगरपरिषद हुंदाको एउटा फोटो र पूर्ण साक्षर नगरपालिका घोषणा हुंदाको फोटो बाहेक अन्य कुनै सामग्री समेत राखिएको छैन ।
कावासोती नगरपालिका २५ बैशाख २०७१ म नगरपालिका घोषणा भएको थियो ।
कावासोतीका शिक्षक लक्ष्मीप्रसाद पंगेनीले कावासोती नगरपालिकाका विभिन्न वडाहरुको वडा प्रोफाइल हेर्नु पर्ने भएकोले हेर्दा नभेटिएपछि करिब तीन महिना अगाडि नगरपालिकामा जानकारी गराउंदा पनि अझैसम्म कुनै सूचना निर्णय लगायतका जानकारीहरु अपडेट नभएको बताए ।
त्यस्तै वेभ साइटमा कर्मचारीको विवरण समेत राखिएको छैन । कावासोती नगरपालिकाको वेभ साइट हेर्न kawasoti nagarpalika मा जान सक्नुहुने छ ।