भैरहवा, असार १८, पछिल्लो समय भैरहवा नाका हुदै लागु औषध कारोबार गर्नेको संख्या बढेको छ । प्रहरी प्रशासनले बजारमा बढदो क्रममा रहेको लागुऔषध नियन्त्रणमा जस्तोसुकै भूमिका खेले पनि अपराधीहरुको संख्या भने दिनानुदिन बढदो क्रममा देखिएको छ । खुला सिमा र बोर्डर नजिकै सजिलै लागु औसध सजिलै किनबेच हुने गरेकोले भैरहवा र बुटवल सम्मको क्षेत्र लागु औसध को ट्रान्जिट बन्दै गएको धेरैको अनुमान छ। गत बर्षको तुलनामा यसबर्ष भने जेठ मसान्त सम्ममै कारोबार गरी पक्राउ पर्नेको संख्या अझ बृद्धि भएको अञ्चल प्रहरी कार्यालयले जानकारी गराए संगै लागुऔषधको कारोबार बजारमा अझ मौलाउँदै गएको प्रष्ट भएको छ । गत आर्थिक बर्ष ०७१–०७२ को एकबर्षको अवधिमा लुम्बिनी अञ्चलबाट लागुऔषध कारोबारमा संलग्न भएको आरोपमा प्रहरीले पक्राउ गर्नेको संख्या ४२६ जना रहेको थियो भने २९० वटा मुद्धा दर्ता भएका थिए । त्यस्तै यस बर्ष अर्थात आर्थिक वर्ष ०७२–०७३ को जेठ मसान्त सम्म को मात्र कारोबारमा संलग्न भएको आरोपमा प्रहरीले पक्राउ गर्नेको संख्या ५८१ पुगिसकेको छ भने ३८८ वटा मुद्धा दर्ता भएको अञ्चल प्रहरी कार्यालय लुम्बिनीका प्रमुख एसएसपी शेर बहादुर बस्नेतले जानकारी दिए ।