काठमाडौं, १५ असार । नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की प्रधानमन्त्री बन्न सक्ने खुलासा गरेका छन् ।
माओवादी नेताहरुसँग वर्तमान सरकार ढाल्ने विषयमा परामर्श गर्न आएका सत्तारुढ दल मधेशी जनअधिकार फोरम लोकतान्त्रिका प्रभावशाली नेता जितेन्द्र देवसँग मंगलबार विहान भएको गोप्य भेटमा महराले प्रधानमन्त्रीमा लोकमानको सम्भावना रहेको बताएका हुन् ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका समेत विश्वापात्र रहेका नेता महराले राष्ट्रिय सहमतिको सरकार निर्माण नगरिए तोकिएकै मितिमा निवार्चन सम्पन्न गर्न असम्भव रहेको कुरा औल्याउँदै चुनाव नभए लोकमानलाई प्रधानमन्त्री र पूर्व अन्तरिम परिषदका अध्यक्ष खिलराज रेग्मीलाई राष्ट्रपति बनाउने परिस्थिति आउन सक्ने खुलासा गरेपछि बैठकमा तरंग पैदा भएको सहभागी एक नेताले जानकारी दिए ।
महराले दलहरुवीच सहमतिको वातावरण नबने मुलुक संवैधानिक संकटमा फस्न सक्ने भन्दै उक्त संकटबाट बचाउन समेत त्यस्तो विकल्प अपनाउनुपर्ने अवस्था आउनेबारे चर्चा गरेका थिए ।
बैठकमा फोरम लोकतान्त्रिका प्रभावशाली नेता जितेन्द्र देवले बैठकमा केपी ओली नेतृत्वको सरकार ढालेर प्रचण्डको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन जोड दिएका थिए ।
नेताहरुवीच पछिल्लो एक हप्तादेखि लगातार यिनै विषयमा छलफल भैरहेको बैठकमा सहभागी ती नेताले बताए ।
देवले मंगलबार विहान सत्तारुढ दल नेकपा माओवादी केन्द्रका प्रभावशाली नेताहरु नारायणकाजी श्रेष्ठ, कृष्ण बहादुर महरा, वर्षमान पुन र जनार्दन शर्मासँग गोप्य भेट गरेका थिए ।दैनिक नेपाल बाट