काठमाडौँ, १६ असार । सत्ता साझेदार नेकपा माओवादीका केन्द्रका नेता जनार्दन शर्मा प्रभाकरले ९ बुँदे सहमति कार्यान्वयन नभए आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन हुन नदिने चेतावनी दिएका छन् ।
रिपोर्टर्स क्लब नेपालले बिहीबार आयोजना गरेको साक्षात्कारमा नेता शर्माले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई निरन्तरता दिन एमाले र तत्कालिन एओवादीबीच भएको नौ बुँदे सहमति कार्यान्वयन नभएसम्म बजेट पारित गर्न नदिने स्पष्ट पारेका हुन् ।
उनले भने, ‘नौ बुँदे सहमति कार्यान्वयन गर्न एमाले पार्टी इमान्दर भएन । संसदीय दलको बैठकमा मैले नौ बुँदे सहमति कार्यान्वयन नभई बजेटको पक्षमा मतदान गर्न नहुने प्रस्ताव पेश गरेको छु, त्यो पारित हुन्छ । हामी सहमति कार्यान्वयन नभई बजेट पारित हुन दिदैनौँ । सहमति कार्यान्वयन गरेर मात्रै बजेट पारित गर्नु पर्छ ।’
शर्माले भूकम्पपछिको पुनःनिर्माण, संविधानप्रति असन्तुष्टहरुको माग संबोधान गर्न, संविधान कार्यान्वयन र निर्वाचनकोलागि राष्ट्रिय सहमति आवश्यक रहेको तर्क गर्दै त्यसकोलागि राष्ट्रिय सहमतिको सरकार बनाउनु पर्नेमा जोड दिएका छन् ।
‘कांग्रेस पनि सहमतिको सरकारमा आउने वातावरण बन्दैछ । राष्ट्रिय सहमतिको सरकार गठनका विषयमा माओवादी र प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसबीच भित्रभित्रै छलफल भइरहेको छ ।’, उनले भने, ‘प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वमा सहमतिको सरकार बनेपनि ठिक छ, काग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा बने पछि ठिक छ, होईन भने हाम्रा अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार बनाउन पनि तयार छौ ।’ उनले सरकारले एक्लै मुलुकको समस्या समाधान गर्छु भनेर सोच्नु उचित नभएको बताए । उनले सरकारका उपप्रधानमन्त्रीहरुले राष्ट्रको मर्यादा नराखी केटाकेटी कुरा गर्दै हिडेको आरोप समेत लगाए ।