काठमाडौं, १६ असार
चालू आर्थिक वर्षको ११ महिनासम्म कृषिजन्य वस्तु आयातबाट १ खर्ब ३४ अर्ब रुपैयाँ बाहिरिएको छ । यो आयातको तथ्याङ्क निर्यातभन्दा झन्डै १० गुणाले बढी हो । यस अवधिमा १४ अर्ब ७८ करोड रुपैयाँबराबरका कृषिजन्य वस्तु निर्यात भएका छन् ।
भन्सार विभागकाअनुसार चालू आवको ११ महिनामा गत वर्षको सोही अवधिको तुलनामा कृषिजन्य वस्तुको आयात १०.७४ प्रतिशतले वृद्धि भएको छ । गत वर्षको ११ महिनामा कृषिजन्य वस्तुको आयात १ खर्ब २१ करोड रुपैयाँ भएको थियो । सोही अवधिमा निर्यात भने ४१ प्रतिशतले घटेको छ । गत आवमा २४ अर्बका कृषिजन्य वस्तु निर्यात भएका थिए ।
मुलुकमा ९० प्रतिशतभन्दा बढी कृषिजन्य वस्तु भारतबाट आयात हुन्छन् । एकातिर वैदेशिक रोजगारीले गाउँघरका खेतबारी बाँझै छन् भने अर्काेतर्फ परम्परागत खेतीमा निर्भर हुँदा उत्पादकत्वसमेत कम छ । पछिल्लो ५ वर्षको अवधिमा कृषिजन्य वस्तुको आयात झन्डै ६० प्रतिशत वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षमा आयात र निर्यातको अन्तर ५ गुणामात्र थियो । आयात निरन्तर वृद्धि हुँदै गएको छ भने निर्यात बढ्ने र घट्ने भइरहको विभागको तथ्याङ्कले देखाउँछ । सरकारले कृषिजन्य वस्तुमा उत्पादनमा न्यून अनुदान दिइरहेको छ ।
भारतले बीउ, सिँचाइदेखि यन्त्र उपकरणसम्म किसानलाई अनुदान दिने गरेको छ । जसले नेपालीले उत्पादन गरेको वस्तुभन्दा सस्तो पर्छ । “यस वर्ष भारतको नाकाबन्दी र मौसमका कारण कृषिजन्य वस्तुको उत्पादनमा पनि ठूलो असर पर्यो,” व्यापार तथा निकासी प्रवद्धन केन्द्रका कार्यकारी निर्देशक ईश्वरीप्रसाद घिमिरेले भने, “त्यसले आयात धेरै बढ्यो भने निर्यात खुम्चिएको छ ।”
कृषिजन्य वस्तुमा सबभन्दा बढी खाद्यान्न आयात भएको छ । यस अवधिमा खाद्यान्न ३५ अर्ब ३४ करोड रुपैयाँ आयात भएको देखिन्छ । यो तथ्याङ्क गत आवको सोही अवधिभन्दा ८.१ प्रतिशत वृद्धि हो । गत आवको सोही अवधिमा ३२ अर्ब ६९ करोड आयात भएको थियो ।
खाद्यान्नमध्ये चामल २१ अर्ब १२ करोड रुपैयाँ र मकै ८ अर्ब ७७ करोड रुपैयाँ भएको छ । “वैदेशिक रोजगारीबाट आएको रेमिटेन्सले गर्दा विगतमा कृषि काम गर्न छाडेका छन्,” घिमिरेले भने, “मानिसहरू सहरीया जीवन जिउन थालेका छन् । गाउँघरका खेतीबारी बाँझो भएका छन् ।”
यो अवधिमा कफी, चिया तथा मसलाको आयात ३ अर्ब ९९ करोडबाट बढेर ४ अर्ब ६३ करोड, तरकारी १३ अर्ब ७२ बाट १५ अर्ब २३ करोड, फलफूल ९ अर्ब ७९ बाट ९ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ । “कामदार नपाइने तथा ज्याला बढी भएकाले कृषिजन्य वस्तुमा उत्पादन गर्नुभन्दा खरिद गर्न सस्तो पर्छ,” घिमिरेले भने, “त्यसले पनि मानिसहरूले खेती गर्न बन्द गरेका छन् ।”