27 C
Kathmandu
Monday, June 21, 2021

बुद्धका उपदेशहरुलाई अँगालौं

- Advertisement -
- Advertisement -spot_imgspot_img

कान्ति चुँदाली।  बुद्धकालीन एक समयमा अंगुलीमाल नामक भयंकर हत्याराले पुरै नगर थर्कमान बनाएको थियो । मान्छे मारेर औलाको माला लगाउँदै हिड्ने भएकाले उसको नाम नै अंगुलीमाल थियो । ऊ यतिधेरै बलियो र भयंकर थियो कि मानिसहरु ऊ नगरमा आएको खबर पाएपछि ढोका थुनेर बस्दथे । धेरै सैनिक बल उसको खोजीमा खटाइएपनि उसलाई पक्रिन सकिएको थिएन ।

यसैक्रममा ऊ एक दिन गौतम बुद्ध तपस्या गरेको स्थानमा पुग्छ र बुद्धको हत्या गर्न खोज्छ । उसले बुद्धलाई मार्ने धम्की दिन्छ । तर बुद्ध नडराएको देखेर ऊ अचम्ममा पर्छ । सारा दुनियाँ उदेखि डराउँदा बुद्ध नडराएपछि उसले बुद्धसँग कुराकानी गर्न थाल्छ । बुद्धले विनम्रतापूर्वक उसलाई अहिंसाका बारेमा बताउनुहुन्छ । अज्ञान, घृणा र द्वेषको कारण क्रुरता तथा हिंसा उत्पन्न हुने र यसलाई त्याग गरेमा मानिसले आनन्द प्राप्त गर्ने कुरा बुद्धले उसलाई बताउनुहुन्छ । प्रेम, करुणा, ज्ञान र क्षमाको मार्गमा चलेमा मात्रै जीवन सार्थक हुने बुद्धले बताउनुहुन्छ । अंगुलीमाल आफ्नो कामप्रति पश्चाताप गर्दै पछि बुद्धको सरणमा पर्छ । ऊ भिक्षु बन्छ ।यसरी बुद्धले भयंकर हत्यारालाई केही क्षणमा परिवर्तन गर्नुहुन्छ । आधुनिक समाजमा पनि यस्ता अंगुलीमालहरु छन्, जो अझैपनि हत्या र हिंसाको मार्गमा लागिरहेका छन् । उनीहरुमा रहेको अहंकार र गलत मनोभावनाले उनीहरुलाई गलत बाटोमा लागिरहन बल पु¥याइरहेको छ । विगतमा नेपालमा जनताको अधिकारका लागि भएका कैयौं आन्दोलन र युद्धहरुले पनि यसको प्रतिनिधित्व गर्छन् । अंगुलीमालको चरित्र अंगालेका देखिन्छन् । सामान्य रिसइवीका आधारमा हत्या नै गर्नेसम्म पुगेका घटनाहरु सञ्चारमाध्यमहरुमा आइरहेका छन् । शान्ति र अहिंसाका मार्गदर्शक गौतम बुद्ध जन्मेको देशका हामी नेपालीहरु दिनप्रतिदिन अमानवीय बन्दै गइरहेको संकेत बेलाबेलामा देखिन्छ । विभिन्न घटनाक्रमहरुले बताउँछन् । २५६० वर्ष अघि जन्मेका बुद्धले शान्ति, अहिंसा र करुणाको ज्ञान दिनुभयो । आज उहाँ हुनुहुन्न । उहाँको ज्ञानको कारण आज विश्वका ५० करोड मानिस बौद्धमार्गी भएका छन् । अरु धर्म अंगाल्नेहरुले पनि बुद्धलाई आदर्श मान्छन् । उहाँका उपदेशहरु पछ्याउँछन् । सम्मान प्रकट गर्छन् ।
तर हामी नेपाली बुद्धको जन्मभूमि नेपाल भएकोमा मात्रै गौरव गर्छौं । त्यसबाहेक खासै केही गर्दैनौं । यही भूमिमा जन्मिएका सिद्धार्थ बुद्ध बन्नुभयो । तर हामी बुद्धका उपदेश अनुसरण गर्दैनौं । हत्या हिंसा, काटमारमै ध्यान दिइरहेका छौं । दिनदिनै हत्याका समाचारहरु सुन्दा हामी वाक्क भएका छौं । बुद्ध भनेको ज्ञान हो । बुद्धको ज्ञानलाई अबलम्बन गरेमा मात्रै बुद्धको सम्मान हुनसक्छ । बुद्धको सबैभन्दा महत्वपूर्ण ज्ञान भनेकै शान्ति र अहिंसा हो । जुन अहिले नेपालको सन्दर्भमा सबैभन्दा बढी उपयोगमा, व्यवहारमा ल्याउनुपर्ने अवस्था छ । बुद्धका आर्य अष्टांगिक मार्गमा कार्य, विचार र मानिसको नराम्रो कामलाई हिंसा मानिएको छ । मनले कसैलाई नराम्रो सोच्नु, नराम्रो बोली व्यवहार गरी अरु कसैलाई दुःख दिनु तथा कर्मले जुनसुकै ठाउँ वा समयमा अरु प्राणिको अहित गर्नु हिंसा हो । तसर्थ अहिंसाको अर्थ मन, वचन र कर्मले कुनै प्राणीलाई दुःख कष्ट नदिनु हो । सबै प्रकारका हिंसाको कारण दुःख प्राप्त हुने हुँदा हिंसा र प्रतिहिंसाको बाटो छोडी सदैव करुणा, प्रेम, समझदारी र अहिंसाको बाटोमा हिड्नुपर्छ । बुद्धले रिस तथा क्रोधले हिंसा उत्पन्न हुने हुँदा रिस र क्रोधलाई सधै काबुमा राख्नुपर्ने बताउनुभएको छ ।

कसैले निन्दा गर्छ भने रिसाउनुहुँदैन बरु सुन्नुपर्दछ, निन्दाबाट त हामीमा भएको दोष उजागर हुन्छ । क्रोधी मानिस सधै हिंस्रक हुन्छ । क्रोधका कारण मानिस एक अर्कासँग लड्दछ । गालीगलौज गर्दछ तथा प्रहार गरी अर्कालाई पीडा पु¥याउने प्रयास गर्छ । मानिसलाई कहिलेकाँही रिस तथा क्रोध उत्पन्न हुनसक्छ । तर यसलाई रोक्नको लागि अरुले गाली गरेपनि त्यसलाई सुन्न तयार हुनुपर्छ । क्रोधले क्रोध जित्न सकिदैन तर विनम्रताले क्रोध जित्न सकिन्छ भन्ने कुरा बुद्धले अंगुलीमालसँगको भेटमा प्रमाणित गरिदिनुभएको छ । सदैव माया, करुणा, शान्ति र विनम्रताको पक्षमा उभिने हो भने हिंसा आफै हराएर जान्छ । नेपालमा बुद्ध जन्मिएको भनी गौरव गर्ने हामी नेपालीले बुद्धका उपदेशहरुलाई पूर्ण रुपमा व्यवहारमा अंगाल्न आवश्यक छ । तर एकैपटक अंगाल्न पनि सकिदैन । किनभने बुद्धका उपदेशहरु अंगाल्ने विषयमा हामी धेरै पछाडि छौं । यसका लागि सरकारी स्तरबाट पनि प्रष्ट रुपमा योजना निर्माणको आवश्यकता छ । जस्तो, हरेक तहमा पाठ्यक्रममा बुद्धका उपदेशहरु समावेश गरी बुद्धका बारेमा सबै प्रकारका जानकारी दिने र यसको प्रचारप्रसारलाई तीब्र रुपमा अघि बढाउने काम सरकारले नै गर्नुपर्छ । अर्को, विभिन्न बौद्ध समुदाय र बुद्धिजीवि वर्गलाई समावेश गरी फरक फरक खालका फोरमहरु बनाउने र ती फोरममार्फत बुद्धका बारेमा अन्तरराष्ट्रिय स्तरमा प्रचार प्रसार तथा बहस छलफलहरु चलाउने । मिडियालाई पनि यहाँनेर राम्रो काम हुनसक्छ । मिडियाले बुद्धका बारेमा बाहिर नआएका र प्रेरणादायी जानकारी सम्प्रेषण गर्ने र आन्तरिक तथा बाह्य पर्यटक भित्राउनका लागि प्रचारप्रसार गर्ने, आकर्षित गर्ने खालका सामग्रीहरु सम्प्रेषण गर्न सक्छन् ।

यस्तै लुम्बिनीको विकासका लागि गठन भएको लुम्बिनी विकास कोषको पुनःसंरचना गर्न आवश्यक छ । लुम्बिनी विकास कोषमा राजनीतिक तहबाट राजनीतिक व्यक्ति नियुक्ति गरिँदा जसरी लुम्बिनीको विकास र प्रचार हुनुपर्ने हो त्यो हुन सकिरहेको छैन । यो विशुद्ध धार्मिक पर्यटकीय स्थल भएका नाताले पनि विशुद्ध स्वतन्त्र र लुम्बिनी बुझेको र यसको विकास गर्न चाहने व्यक्तिहरुलाई प्रतिस्पर्धाका आधारमा ल्याउँदा उपयुक्त हुन्छ । अन्त्यमा, हामी सबैलाई बुद्धका उपदेशहरु अंगाल्न प्रेरणा मिलोस् । सद्बुद्धि मिलोस्, बुद्ध जयन्तीको अवसरमा यही कामना ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्