8.1 C
Kathmandu
Thursday, January 20, 2022
Your Ad Here  9857041698

केन्द्रीय सदस्य मनोनयन : रामचन्द्रको सम्मान कि अपमान ?

- Advertisement -
- Advertisement -spot_imgspot_img

नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाले आफ्नो पदभार सम्हालेकै दिन बुधबार सात नेतालाई केन्द्रीय सदस्यमा मनोनीत गरे ।

निवर्तमान कार्यवाहक सभापति रामचन्द्र पौडेल, निर्वतमान महामन्त्री कृष्णप्रसाद सिटौला, निवर्तमान कोषाध्यक्ष चित्रलेखा यादव, नेताहरू अर्जुननरसिंह केसी, नरहरि आचार्य, उमाकान्त चौधरी र गगनकुमार थापालाई केन्द्रीय सदस्य मनोनीत गरेका छन् । देउवाको यो निर्णयसँगै पार्टी सञ्चालन, व्यवस्थापन र प्रतिस्पर्धी खेमाप्रति उनको आगामी दिनको सम्भावित रवैया पनि प्रकट भएको छ । र, यसले केही वैधानिक, नीतिगत र व्यावहारिक प्रश्न समेत उठाएको छ ।

एक, १३ औं महाधिवेशनबाट पार्टी पदाधिकारी र केन्द्रीय सदस्यमा निर्वाचित भएको प्रमाणपत्र लिनुअघि नै मनोनयनको निर्णय किन गरियो ? यो निर्णयले आम महाधिवेशन प्रतिनिधिबाट निर्वाचित केन्द्रीय सदस्यहरूको मानमर्दन गर्ने काम देउवाबाट भएको भन्दै उनकै खेमाका कतिपय केन्द्रीय सदस्यहरू असन्तुष्ट छन् । भलै मुखर रुपमा कसैले विरोध गरेका छैनन् । सायद बधाई दिन नभ्याउँदै सुरुकै दिनबाट विरोध गरेको आरोप खेप्नुपर्ला भन्ने भयले उनीहरूले मुख खोलेका छैनन् ।

दुई, सभापतिका प्रत्यासी एवम् पूर्वकार्यवाहक सभापति रामचन्द्र पौडेललाई अन्य छ नेताहरुसँगै केन्द्रीय सदस्य मनोनयन गरे । यसलाई कांग्रेसका पाका नेताहरुले गम्भीर रुपमा लिएका छन् । देउवाको यो निर्णयलाई लिएर उनीहरुमा गम्भीर आशंकाले पनि घर गरेको छ । जस्तो–

के देउवाले पौडेललाई गगन थापा, उमाकान्त चौधरीकै हाराहारी नेतामा राखेका हुन् ?

अथवा, उनले कृष्ण सिटौलालाई समेत पौडेलकै दर्जा दिन खोजेका हुन् ?

खासगरी पौडेल पक्षधरले देउवाको निर्णयलाई पौडेलको मानमर्दन मात्रै होइन, आगामी दिनमा सम्मानजनक भूमिका दिएर पार्टीलाई एकताको बाटोमा हिँडाउन नचाहेको रुपमा लिएका छन् । किनभने, पौडेल देउवाका निकटतम प्रतिद्वन्द्वी मात्रै होइनन्, विगतमा कार्यवाहक नै भए पनि पार्टी नेतृत्व सम्हालिसकेका नेता हुन् । भोटको गणितमा पछि परे पनि देउवाको जत्तिकै लामो इतिहास, योगदान र उचाइ भएका नेताका रुपमा पौडेललाई लिइन्छ । त्यसमाथि कांग्रेसभित्र कोइराला खेमाका सर्वोच्च प्रतिनिधि एवम् उत्तराधिकारीका रूपमा समेत पौडेल महाधिवेशनमा प्रस्तुत भएर सुरु निर्वाचनमा हाराहारी मत पाएका थिए ।

अर्कोतिर, पौडेल पक्षधरलाई आशंकाको विषय के भएको छ भने देउवाले अब पौडेलको विकल्पमा सिटौलालाई भूमिकासाथ अघि बढाउने योजना बनाएका हुन सक्छन् । किनभने, १३ औँ महाधिवेशनमा सिटौलाले संस्थापन पक्षभित्रैबाट विद्रोही उम्मेदवार बनेर देउवालाई सभापतिमा जिताउन अप्रत्यक्ष सहयोग गरेका थिए । त्यसैको पुरस्कार वा अघोषित सम्झौता पनि हुन सक्ने आशंका पौडेल पक्षधरको छ । अझ, सिटौलालाई आवश्यकताभन्दा बढी महत्व दिनुका पछाडि देउवा कतै अन्यत्रकै ‘डिजाइन’मा त चलेका छैनन् भन्ने प्रश्नले पनि पौडेलका शुभचिन्तक नेताहरूबीच ठाउँ पाएको छ । यी विषय आजबाट सुरु हुने केन्द्रीय कार्यसमिति बैठकमा उठाउने तयारीमा पौडेलपक्षीय नेताहरू छन् ।

यतिखेर कांग्रेसका पूर्वमुख्यसचिव एवम् पौडेलनिकट नेता रामचन्द्र पोखरेल सुशील कोइराला सभापतिमा चयन हुँदाका क्षण झल्झली सम्झिरहेका छन् । त्यतिखेर सभापति कोइरालाले उनका प्रतिद्वन्द्वी देउवालाई एक्लै केन्द्रीय सदस्य मनोनीत गरेका थिए । मनोनयनपत्र बोकेर आफै देउवानिवास पुगेको क्षण सम्झँदै उनी भन्छन्, ‘दसैँ आसपासको समय थियो । आफै गएर देउवाजीलाई दिनू, अरुको हातमा नपठाउनू भन्नुभएको थियो, सभापतिजीले । त्यसलाई मैले पनि गम्भीरतापूर्वक लिएर आफ्नो जिम्मेवारी पूरा गरेको थिएँ ।’

त्यसरी देउवालाई मनोनीत गरेको निकै पछि मात्रै अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरु कोइरालाले मनोनीत गरेका थिए । विगतमा पार्टीमा बसिसकेको संस्कार स्वयं देउवाले सम्झिन नसकेको पोखरेलको भनाइ छ । उनी भन्छन्, ‘पार्टीभित्र होस् वा बाहिर, प्रतिस्पर्धीलाई सम्मान गर्ने बीपीले बसालेको संस्कृति हो । त्यसलाई हामी संस्कारका रुपमा बोक्न तयार छौँ कि छैनौँ भन्ने कुराको संकेत यिनै र यस्तै व्यवहारले गर्छन् ।’

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!