१६ पुस : प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज बिहान टेलिफोन वार्ता भएको छ । आज बिहान १० बजे ३५ मिनेट जाँदा सुरू भएको फोनवार्ता करिब २० मिनेटसम्म चलेको थियो । टेलिफोनवार्ताको सुरूवातमा दुवै प्रधानमन्त्रीले अंग्रेजी नयाँ वर्ष २०१६ को शुभकामना आदानप्रदान गरेका थिए । टेलिफोन वार्ताका क्रममा प्रधानमन्त्री ओलीले मधेसी मोर्चाका मागलाई सम्बोधन गरेर नेपाल सरकारले संसदमा प्रस्तुत गरेको संविधान संशोधनको प्रस्तावलाई भारत सरकारले स्वागत गरेको भारतीय प्रधानमन्त्री मोदीलाई धन्यवाद ज्ञापन गरेका थिए । प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालका अनुसार प्रधानमन्त्री ओलीले आफूले नेपाल र भारतबीचको सम्बन्ध सकारात्मक बनाउन चाहेको जानकारी भारतका प्रधानमन्त्री मोदीलाई दिएका छन् । प्रधानमन्त्री ओलीले आपूर्ति व्यवस्था सहज नभएकोमा भारतीय प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै रक्सौल–बीरगन्ज नाकाबाट आपूर्ति व्यवस्था सहज बनाउन आग्रह गरेका छन् ।
जवाफमा भारतीय प्रधानमन्त्री मोदीले आफु सदैव आपुर्ति व्यबस्था सहज होस् भन्ने पक्षमा रहेको र त्यसका लागि भारतको तर्फबाट कुनै रोकटोक नभएको बताए । मोदीले रक्सौल वीरगन्ज नाकाबाहेक सबै नाकाबाट आपूर्ति व्यवस्था सहजभएको भन्दै नेपालकै राजनीतिक दलहरुले उक्त नाकामा प्रदर्शन गरिरहेका कारण असजह भएको जानकारी प्रधानमन्त्री ओलीलाई गराएको प्रेस सल्लाहकार दाहालले जानकारी दिएका छन् । प्रधानमन्त्री मोदीले औषधीको अभाव भएका बेला आफुले विदेशमन्त्री सुष्मा स्वराजलाई एयरलिफ्ट गरेर भएपनि औषधी आपूर्ति गर्न भनेको स्मरण समेत गराएका छन् ।