पर्यटकिय नगरी चितवनको सौराहामा भएको १२ औं चितवन हात्ती महोत्सव अन्र्तगतको हात्तीको फाष्टवाक (हात्ती लम्काई) को उपाधि एकताकली ‘बी’ ले चुमेको छ । फाईनलमा पाँच प्रतिस्पर्धीलाई पछि पार्दै एकताकली ‘बी’ प्रथम भएको हो । यस्तै फाष्टवाकमा एलिशाकली द्धितिय र मारुतीकली तृतिय भएको छ । यसैगरि हात्तीका छावाहरुको रोमाञ्चकारी फुटबलको उपाधि सिजी फुड्सले उचालेको छ । आज भएको फाईनल प्रतिस्पर्धात्मा नविल बैंकलाई २–० गोल अन्तरले पराजित गर्दै सिजीले उपाधि उचालेको हो । सिजीका लागि पहिलो हाफको ४८ सेकेण्डमै सौराहागजले गोल गर्दै अग्रता अग्रता दिलाएको थियो । पहिलो हाफमा थप गोल हुन नसकेपछि सिजीले १–० को अग्रता कायम राख्यो । खेलमा आक्रामक रुपमा उत्रिएको सिजीको दवाबलाई रोक्ने क्रममा नविल बैंकका चुरियागजले २ मिनेट १५ सेकेण्डमा आत्मघाती गोल गर्न पुग्यो । खेलमा नविल बैंकले केही सुनौलो अवसर खेर फाल्यो । थप गोल हुन नसकेपछि सिजीले २–० को नतिजा निकाल्दै उपाधि रक्षा गर्न सफल भयो । यस्तै महोत्सव अन्तरगत हिजै टाँगा, गाडा र डुंगादौडतर्फ फाईनल प्रतिस्पर्धा भएको थियो ।