27 C
Kathmandu
Monday, June 21, 2021

झुक्दै नझुक्ने नेपालको छोरो…

- Advertisement -
- Advertisement -spot_imgspot_img

barsha mallaईश्वरले चाहे पाँच/सात दिनमै नेपालको स्थिति सहज हुन सक्ने झिनो आशा देखाएकी भारतीय विदेशमन्त्री शुष्मा स्वराजले पाँच र सात दिन जोडेर १२ दिन भन्न खोजेकी होलिन सायद । होइन भने ७ दिन त बिति नै सक्यो होइन र ? तैपनि नेपाली जनताको समस्या यथावत नै छ । खै ! कुन ईश्वरका कारण आज नेपाली जनताले यो दिन देख्नु परेको हो ?

मलाई त शंका लागिरहेको छ, कतै बलिउडको सुपरहिट चलचित्र ‘पीके’का नायक अमिर खान् (पीके) ले भनेझै बीचमा कसैले ‘फिर्की’ लिने काम त गरिरहेको छैन ? जसरी नेपाली समाजमा संघीयताको गलत सन्देश गएको छ, र देश समस्याको दलदलमा दिनप्रतिदिन फस्दै गएको छ । त्यसैगरी, ईश्वर समक्ष पनि नेपाली जनताले खेपिरहेको कष्टबारे गलत सन्देश दिएर बीचमा कसैले ‘फिर्की’ लिने काम गरिरहेको त छैन् । जसको फल स्वरूप उहाँले पाँच/सात दिनमा सहज वातावरण बनाउने आशा देखाएता पनि यथार्थमा चाहनु भएको छैन ।

नेपाली जनता कालोबजारी र चर्को महङ्गीको चपेटामा परेका छन् । हो, तिनै जनता जसलाई केही देश चलाउने जिम्मा बोकेका नाईकेहरूले खोक्रो राष्ट्रियताको नाममा कहिले ऊफारि रहेका छन्, त कहिले थेचारी रहेका छन् । उफ्रने र थेच्चिने, मार्ने र मर्ने केवल नेपाली जनता नै छन् । उनीहरू त केवल इतिहास कोट्याउँछन्, नेपाली स्वाभिमानको र गाउँदै हिँड्छन् ‘झुक्दै नझुक्ने नेपालको छोरो’ । त्यसैले सिधै कहिले लैनचौरमा अंकमाल गर्दै भेटिन्छन् त कहिले नयाँदिल्लीमा ।

त्यसैले मलाई एकपटक जसरी भएपनि भारतीय विदेशमन्त्री शुष्मा स्वराजसँग भेट्न मन छ । यिनले दिएको पाँच/सात दिनको भाका पनि नाघ्यो समस्या यथावत नै छ । त्यसैले उनीसँग ती ईश्वरको ठेगाना माग्नु छ, जसले नेपालमा अघोषित नाकाबन्दी खोल्न चाही रहेका छैनन् ।
यदि म जस्ता सर्वसाधारणलाई सिधै ठेगाना दिन नमिल्ने भए, म ती ईश्वरको नामै मात्र भए पनि सोधेर आउने थिए । कतै ईश्वरको नाम लिने क्रममा भगवान् ‘गणेश जी’ को नाम पर्यो भने मंलबारको ब्रत गर्थे । उनका नाममा रातो वस्त्र, रातो अबिर, ११ लड्डु, २१ दुबो चढाएर गणेश चालिसा पढ्ने थिएँ ।

यदि उनी नभएर ‘हनुमान जी’ भए हनुमान चालिसा पढ्दै उनका नाममा दियो बाल्थे र उनलाई खुसी पार्ने थिए ।

शनि देव रिसाएपछि हरेक क्षेत्रमा विनाश हुन्छ रे । यसो सूर्यको गति हेरी समय छुट्टयाएर बनाएको मेरो जन्म कुण्डली देखाउँदा ज्योतिष बाजेले भन्ने गरेको सुनेकी थिएँ । त्यसैले यहि बैशाख १२ गतेको विनाशकारी महाभूकम्प त्यसपछि नेपाली भूमिमा एकपछि अर्को गर्दै भएका डरलाग्दा घटना सम्झन्छु र कतै शनि देव नै पो रिसाएका हुनकी ? भन्ने शंका पनि मेरो मनमा बढ्दै गएको छ । यदि उनी नै रिसाएका हुन् भने मासु त के प्याज समेत नखाने ब्राह्मण बोलाएर जे जति दान दक्षिणा गर्नु पर्ने हो त्यो पनि गर्थे ।

त्यसका निम्ति पहिला मलाई ती ईश्वरको नाम जान्न जरुरी छ जसले नेपालमा नाकाबन्दी गरिरहेका छन् । खोइ ती ईश्वर को हुन् ? कहाँ बस्छन् ? कस्ता छन् ?

कैलाश पर्वतमा बाघको छाला र नागको माला लगाएर बसेका छन् कि ? वृन्दा वनमा गोपिनीहरूसँगै प्रेमको गीत गाउँदै बसेका छन्, या त कुनै रुखमुनि बसेर बुद्धत्व प्राप्त गरिरहेका छन् । खोइ ?

यदि अहिलेका आधुनिक ईश्वर भए त पक्कै इमेल इन्टरनेट चलाउन जान्छन् होला । यदि मैले इमेल, फेसबुक, ह्वाट्स एप, टुईटर जुन आइडि पाए पनि म म्यासेज मात्रै कहाँ हो र, भिडियो कल नै गर्थे । अनि नेपालको वास्तविकस्थिति देखाउने थिएँ । तर, विडम्बना मलाई ती ईश्वरलाई इमेल इन्टरनेट चलाउन आउँछ आउँदैन भन्नेबारे पनि केही जानकारी छैन ।

खै ! कुन ठाउँका ईश्वर हुन् ती, जसलाई नेपाली जनताको दुःख महसुस भइरहेको छैन । एक साधारण बिरामी सिटामोल नपाएर अकालमा ज्यान गुमाईरहेको छ, शान्ति भूमिका रूपमा चिनिएको यो पवित्र भूमी रगतले पोतिँदा पनि चुप बस्ने खै कुन ईश्वर हुन् तिनी ?

मैले त सुनेकी थिएँ दुखी र गरिबसँग सधैं भगवान् साथमा हुन्छन रे । साच्चै ! भगवान् (ईश्वर) दुखी कै घरमा तिम्रो बास हुने भए यो नाकाबन्दी अझ लम्ब्याउ । अझ तडपिन देउ, तडपदा तडपिदै कोहि मर्छन् भने मर्न देउ । दाजुभाइ लड्छन् मर्छन्, आफ्नै आमाको कोख रित्याउछन् भने पनि रित्याउन देउ ।

तिम्रा सुन र चाँदीका सुन्दर मूर्ति बनाएर आफ्नो घर सजाउन समेत नसक्ने हामी गरिबलाई अझ दुःख देऊ । तिम्रा नाममा मुख बोली रकम दान गर्न हामीले सकेनौं, न त सक्यौँ कुनै महायज्ञ गर्न, त्यही भएर पनि हामीलाई दुःख दिन पाउने तिम्रो अधिकार हो ।

हामीले अधिकारका निम्ति मारकाटसम्म गर्न हुने तिमी ईश्वरले गरे के होला र झन । तर, कृपया हे ईश्वर ! अधिकार खोस्ने क्रममा हामीले जसरी कर्तव्य बिर्सियौं, तिमीले नबिर्सनु । कतै हामी तिमी आउने आशामा तडपिदा तड्पिदै सास फेर्नै बिर्सियौँ भने ‘बैतर्नी’ तराउने जिम्मा (कर्तव्य) तिम्रो हो । त्यति त गर्छौ होला नि होईन ? फेरि पनि विनम्र अनुरोध गर्छु हामीले कर्तव्य बिर्स्यौँ भन्दैमा तिमीले नबिर्सनु, नत्र तिमी र हामीमा फरक ‘नाम’ को मात्र रहने छ ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्