१० मंसिर, चितवन । नेत्रविक्रम चन्द विप्लव समूहका कार्यकर्ताले चितवनस्थित एमाओवादी र वैद्य माओवादीको बोर्ड हटाउन २४ घण्टे अल्टिमेटम दिएका छन् ।
चितवनको भरतपुर नगरपालिका कृष्णनगरमा रहेको शहीद पार्क दुई माओवादी मिलेर बेच्न लागिएको भन्दै विप्लव माओवादीले सो पार्कबाट बोर्ड हटाउन एमाओवादी र वैद्य माओवादीलाई चेतावनी दिएको हो ।
प्रचण्ड नेतृत्वको एमाओवादी र वैद्य नेतृत्वको माओवादीले बुधबार सो शहीद पार्कमा संयुक्त कार्यालय स्थापना गरेको भन्दै बोर्ड झुण्ड्याएका छन् । दुई पार्टीको संयुक्त कार्यालय स्थापना गरी बुधबार चियापानको समेत आयोजना गरिएको थियो ।
यसअघि एमाओवादीको पार्टी कार्यालय रहेको सो भवन र जग्गाको विषयलाई लिएर पार्टी विभाजनपछि प्रचण्ड र वैद्य पक्षका कार्याकर्तावीच झडपसमेत भएको थियो ।
झडपपछि सो कार्यालयलाई शहीद पार्कका रुपमा राख्ने र बिक्री नगर्ने सहमति दुबै पक्षवीच भएको थियो ।
तर, फेरि एमाओवादीका नारायण दाहाल र वैद्य माओवादीका सूर्यप्रकाश सुवेदी पथिकले मिलेर उक्त भवन र जग्गा विक्री गर्न लागेको विप्लव माओवादीको आरोप छ ।