काठमाडौं, कात्तिक १२
नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार पद तथा गोपनियताको शपथ लिनुहुने भएको छ । दिउँसो ३ बजे राष्ट्रपति भवन शीतलनिवासमा आयोजना हुने विशेष समारोहमा प्रधानन्यायाधीश कल्याण श्रेष्ठबाट राष्ट्रपति भण्डारीले शपथ लिनुहुनेछ ।
राष्ट्रपति कार्यालयले आफ्नै भवन परिसरमा शपथ ग्रहण समारोह आयोजना गर्न लागेको हो । नयाँ राष्ट्रपतिले शपथ ग्रहण गरेलगत्तै राष्ट्रपतिको कुर्सी साटासाट हुनेछ । कुर्सी साटासाट भएपछि राष्ट्रपति यादव वैधानिक रुपमा पूर्व राष्ट्रपति हुनुहुनेछ । वर्तमान राष्ट्रपति डा. रामवरण यादवले नवनिर्वाचित राष्ट्रपति भण्डारीलाई राष्ट्रपतिको कुर्सी दिनुहुनेछ । सरकारले नवनिर्वाचित राष्ट्रपति भण्डारीको स्वागत र प्रथम राष्ट्रपति यादवको बिदाई एकैसाथ गर्ने तयारी गरेको छ ।
समारोहमा राष्ट्रपति यादवले बिदाई सन्देश दिने तयारी गर्नुभएको छ । राष्ट्रपति यादव बिहीबार नै ललितपुरको बागडोलस्थित भाडाको घरमा सर्ने हुनुभएको छ ।
सरकारले आयोजना गर्ने बिदाइ समारोहपछि उहाँ बेलुकीपख शितल निवासबाट सर्न लाग्नुभएको हो । उहाँ २०६५ साउन ६ गते गणतन्त्र नेपालको प्रथम राष्ट्रपति चुनिनुभएको थियो ।