९ कात्तिक, काठमाडौं । चीनसँग इन्धन खरिद तथा आपूर्ति सम्न्धी सम्झौता गर्न एक नेपाली टोली आज सोमबार बेइजिङ जाँदैछ ।
दिउँसो २ बजे चीन प्रस्थान गर्ने टोलीको नेतृत्व चीनका लागि नेपाली राजदुत डा. महेश मास्के गर्दैछन् । ८ सदस्यीय टोलीमा बाणिज्य मन्त्रालयसहित अर्थ, कानून र परराष्ट्र मन्त्रालयका एक-एक जना सहसचिव छन् ।
यसैगरी गुणस्तर तथा नापतौल विभागका महानिर्देशक र नेपाल आयल निगमका २ जना अधिकारी पनि रहेको टोलीका सदस्य बाणिज्य मन्त्रालयका सहसचिव तथा प्रवक्ता शम्भु घिमिरेले जानकारी दिए ।
टोली १ बजेर ५५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट उड्नेछ । टोलीले चीनसँग ब्यापारिक हिसाबले तेल र ग्यास खरिद गर्ने विषयमा छलफल हुने प्रवक्ता घिमिरेले बताए ।
चीन तयार भएमा दिर्घकालीन रुपमा इन्धन खरिद गर्ने गरी सम्झौता गर्ने नेपाली टोलीको तयारी छ । चीनले यसै हप्ता भित्र नेपाललाई १३ लाख लिटर पेट्रोल अनुदानमा दिँदैछ ।