काठमाडौं
कात्तिक ८
सरकार र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच आज भएको वार्ता सकारात्मक भएको छ । उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापा नेतृत्वको सरकारी टोलीले आन्दोलनरत मोर्चासँग गरेको वार्तामा आन्दोलनकारीले उठाएका पाँचवटा पूर्व शर्त पूरा गर्न सरकार तयार भएको छ ।
आन्दोलनका क्रममा मृत्यु भएकालाई सहिद घोषणा, मृतकका परिवारलाई राहत उपलब्ध गराउन, घाइतेको उपचार गर्न, दंगाग्रस्त क्षेत्र घोषणा गर्न सरकार तयार भएको सद्भावनाका सहअध्यक्ष लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।
यसअघि पनि मोर्चाले राजनीतिक मुद्दामा प्रवेश गर्नुअघि यी माग पूरा हुनुपर्ने शर्त राख्दै आएको थियो । सरकारले शर्त पूरा गरेपछि कात्तिक १२ गते अर्को वार्ता हुने भएको छ । सरकारका तर्फबाट माग पूरा गराउने जिम्मा वार्ता टोली सदस्यसमेत रहनुभएका कानुनमन्त्री अग्नि खरेललाई दिइएको छ ।
मोर्चासँग वार्ता गर्नुअघि सरकारी वार्ता टोलीले प्रधानमन्त्री केपी शर्मा ओली र उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेको थियो । सात प्रदेशको सीमाङ्कन परिमार्जन गर्नुपर्ने, राज्यका सबै निकायमा समावेशी समानुपातिकको सुनिश्चित हुनुपर्ने लगायतका माग राख्दै मोर्चाले दुई महिनाभन्दा बढी समयदेखि आन्दोलन गर्दै आएको छ ।
मोर्चाको आन्दोलनले ढुवानीमा अवरोध भएको भन्दै भारतले नाकाबन्दी गरेकाले जनजीवन कष्टकर बन्दै आएको छ । आजको वार्तामा सरकारले आन्दोलनलाई खुकुलो बनाउन आग्रह गरे पनि मोर्चाले त्यसलाई अस्वीकार गरेको छ ।