व्यवस्थापिका संसदले राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन कात्तिक ११ गतेका लागि तोकेको छ । शनिबार बसेको संसद बैठकमा सभामुख ओनसरी घर्तीले दलहरुबीच सहमतिमा राष्ट्रपति-उपराष्ट्रपति चयनका लागि कात्तिक ८ गते र सहमति हुन नसके चुनावका लागि कात्तिक ११ को तिथी तोकिएको जानकारी दिएकी छन् ।
संवैधानिक व्यवस्था अनुसार संसद अधिवेशन सुरु भएको एक महिना भित्र राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन गर्नुपर्ने प्रावधान छ ।
संसद बैठक असोज १५ गतेबाट बसेको हो । संविधानको संक्रमणकालिन व्यवस्थाको धारा २९७ को उपधारा २ बमोजिम राजनीतिक सहमतिका आधारमा राष्ट्रपति र उपराष्ट्रपति चयनका लागि कात्तिक ८ गते-भोलि आईतबार) अपरान्ह ४ बजेसम्मको समय तोकिएको छ ।
त्यो हुन नसके धारा २९७ कै उपधारा ३ बमोजिम व्यस्थापिका संसदमा कायम रहेको सदस्य संख्याको बहुमतका आधारमा दुवै पदको निर्वाचन हुने छ । निर्वाचन प्रयोजनका लागि संसदले महासचिव मनोहरप्रसाद भट्टराईलाई निर्वाचन अधिकृत तोकेको छ । निर्वाचन कात्तिक ११ गते ११ बजेबाट हुने छ ।