२ कार्तिक, काठमाडौं । दसैंंका बेलामा खाना पकाउने ग्यासको चरम अभाव भएपछि माछामासु ब्यवसाय पनि प्रभावित भएको छ । बजारमा ग्यास अभाव भएपछि दसैंंमा पसल पुगेर माछामासु किन्ने ग्राहकको संख्या गतवर्ष भन्दा झण्डै ५० प्रतिशतले घटेको माछामासु ब्यवसायी संघले जनाएको छ ।
खसीको खुद्रा मासु व्यापार संघका अध्यक्ष गणेशलाल खड्गीलेे यसवर्ष दसैंंमा पनि माछामासु किन्ने ग्राहक न्युन रहेको बताए । ‘भन्सामा ग्यास भए पो दसैंं ‘ उनले भने-‘यसैपनि खसीबोका पर्याप्त नआएको बेला ग्यासको पनि अभाव छ । तनावका बीचमा मान्छेलाई धेरै मासु खाने उत्साह पनि छैन’ ।
बजारका मासु पसलमा ग्राहकको भिड खासै देखिएको छैन । धेरैका भन्सामा ग्यास सकिएको र ग्यास भएकालाई पनि जोगाउने चिन्ता रहेकाले माछामासुको ब्यापारमै असर परेको छ । समान्यमा ३ किलो किन्ने ग्राहक एक किलो किन्छन् । मानसिक रुपले पनि यसवर्ष मासु खाएर आनन्द उठाउने अवस्था नरहेको खड्गीले बताए ।
यसवर्ष तराइको बन्द र भारतको अघोषित नाकाबन्दीका कारण खसीबोकाको अभाव छ । तर, अभाव बिकराल नभएको व्यवसायीले बताएका छन् । ‘तराइ र भारतबाट खसीबोका नआएपछि मुल्य बढेकै हो । तर, हामीले जुन हदसम्मको अभाव हुन्छ भन्ने ठानेको थियौं । त्यो अवस्था छैन’ खड्गीले भने-‘मासु पसलमा मासुको बिक्रीको अवस्था समान्य छ । अभाव भएको भए पसुलमै पनि मासु किन्नेको लाइन लाग्थ्यो ।’
त्यसमाथि तेल अभावको कारण गाडी नपाइने डरले चाँडै धेरैले काठमाडौं छाडेकाले पनि मासुको ब्यापार घटेको हुनसक्ने व्यवसायीको अनुमान छ । उनले अहिले देश नै समस्यामा रहेकाले सबै क्षेत्रमा यसको असर देखिने भएकाले आफ्नो ब्यवसाय प्रभावित भएको उल्लेख गरे ।
अहिले खसीको मासुको मूल्य ८ सय रुपैयाँदेखि ८ सय ५० रुपैयाँसम्म छ । यसैगरी कुखुराको मासुको मूल्य ३ सय १० रुपैयाँ प्रतिकिलो छ । यसवर्ष तराईमा जारी बन्दले खपत काठमाडौंमै कुखुराको मासुको मू्ल्य घटेको छ ।