३० असोज, काठमाडौं
एकीकृत नेकपा माओवादीका तर्फबाट सरकारको नेतृत्व टोपबहादुर रायमाझीले गर्ने भएका छन् । तर, उपप्रधानमन्त्रीको जिम्मेवारी पाउने भए पनि रायमाझीले गृह मन्त्रालयको जिम्मेवारी नपाउने भएका छन् ।
‘टोपबहादुरजीले उपप्रधानमन्त्रीसहित पर्यटन संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी सम्हाल्नुहुनेछ,’ एमाओवादीका एक स्थायी कमिटी सदस्यले भने- ‘गृहमन्त्रीमा शक्ति बस्नेत र जनार्दन शर्माको नाम आए पनि टुंगो लागिसकेको छैन ।’
कुल ८ वटा मन्त्रालय पाउने एमाओवादीले यसअघि नै हरिबोल गजुरेललाई कृषि मन्त्री बनाइसकेको छ । त्यस्तै शिक्षामा पूर्वशिक्षक समेत रहेका सांसद अग्नि सापकोटालाई पठाउने एमाओवादीको तयारी रहेको छ ।
यसैवीच एमाओवादी अध्यक्ष प्रचण्डले सरकारमा पठाउने मन्त्रीहरुका विषयमा शनिबार प्रधानमन्त्री केपी ओलीसँग छलफल गरेका छन् ।
पार्टी महासचिव कृष्णबहादुर महराको नाम गृहमन्त्रीका रुपमा चर्चामा आए पनि उनी सरकारमा नजाने भएका छन् ।