काठमाडौँ : व्यवस्थापिका–संसद्को उपसभामुख पदमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका सांसद गङ्गाप्रसाद यादव निर्विरोध निर्वाचित भएका छन् ।
व्यवस्थापिका–संसद्को शुक्रबारको बैठकमा उपसभामुख पदमा एकमात्र उम्मेदवारी रहेकाले यादव निर्विरोध निर्वाचित भएका हुन् । उनलाई निर्वाचित गरियोस् भनी नेकपा (एमाले) का सांसद शत्रुधन महतोले प्रस्ताव प्रस्तुत गरे ।
महतोले वडाध्यक्षदेखि सांसद हुँदै राजनीतिक अनुभव प्राप्त गरेका यादवलाई पदमा निर्वाचित गराउन आग्रह गरे । प्रस्तावलाई समर्थन गर्दै एमाओवादीका सांसद रेखा शर्माले समावेशी र समानुपातिक आधारमा संविधानको कार्यान्वयनका क्रममा निर्विरोध रूपमा सो पदमा निर्वाचित गराउन आग्रह गरे ।
बैठकको अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्य लक्ष्मण राजवंशीले यादवको पदमा एक मात्र प्रस्ताव कायम रहेकाले निर्विरोध निर्वाचित भएको घोषणा गरे । उनले नवनिर्वाचित यादवलाई बधाई दिँदै सफल कार्यकालको कामना गरे ।
उपसभामुख पदमा नेपाल मजदुर किसान पार्टीका सांसद डिल्लीप्रसाद काफ्लेले उम्मेदवारी दर्ता गराए पनि लिखितरूपमा फिर्ता लिइएकाले यादवको मात्र उम्मेदवारी कायम रहेको थियो । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले उम्मेदवारी नदिएपछि निर्विरोध भएका हुन् ।
यही असोज २४ गते प्रधानमन्त्री पदमा निर्वाचन भए पनि शुक्रबारको सभामुख र उपसभामुख निर्विरोध निर्वाचित हुनुले सत्तापक्ष र प्रतिपक्षका बीचको दूरी घट्ने अनुमान गरिएको छ ।
संसद्को अर्को बैठक आगामी कात्तिक ७ गते शनिबार दिउँसो ३ बजे बस्नेछ । रासस