बर्दिया, असोज २८ – आँधीहुरीसँगै बिहीबार बिहान परेको असिना पानीले बर्दियाको माछागढमा धानबाली नष्ट पारेको छ । बाँसगढी नगलपालिका–११ को माछागढ गाँउमा परेको असिना पानीले ३ सय हेक्टरभन्दा बढी क्षेत्रफलमा लगाइएको धानबालीमा क्षती पुर्याएको स्थानीय टेकबहादुर डिसीले जानकारी दिनुभयो । असिनाले माछागढ गाँउका ५ सय घर परिवारको साढे एक सय हेक्टरमा लगाइएको धानबाली पूर्ण रुपमा क्षती गरेको र दुई सय हेक्टरमा लगाईएको धानबाली आंशिक रुपमा क्षती गरेको स्थलगत निरीक्षण गरेर फर्किएका कृषि विकास कार्यालय प्रमुख शिवराज सुवेदीले बताउनुभयो । सुवेदीका अनुसार यस क्षेत्रमा निक्कै राम्रो धान फलेको थियो, प्रति हेक्टर ५ मेट्रिक टन धान फलेको उहाँको अनुमान छ । ‘असिनाले गर्दा कति क्षेत्रफलमा लगाएको धानबाली क्षती भयो आआफ्नो बालीको क्षती विवरण शनिबारसम्म पेश गर्न कृषकहरुलाई भनेका छौँ’ सुवेदीले भन्नुभयो, ‘ विवरण राहतका लागि माथिल्लो निकाएमा पठाइनेछ ।’
धानबाली पाकेर घर ल्याउने बेला परेको असिना पानीले कृषकहरु मर्कामा परेका छन् । असिना पानीले आलु लगाएका कृषकहरु पनि मर्कामा परेका छन् ।