रसुवा, असोज २८ – रसुवासँग सीमाना जोडिएको चीनको केरुङ नाकाबाट बिहीबारदेखि सामान आयात निर्यात सुरु भएको छ । नेपाल तर्फको सडक पहिलेनै सञ्चालनमा आएपनि चीनतर्फको सडक सञ्चालनमा नआउँदा नाका खुल्न सकेको थिएन ।
बिहीबारबाट केरुङ नाका पुनः सञ्चालनमा आएको रसुवाका भन्सार प्रमुख केदार पनेरुले जानकारी दिनुभयो । नाका खुलाउनका लागि बुधबार नै बाणिज्य मन्त्रालयका सहसचिव जीवराज कोइराला नेतृत्वको टोली र नेपालस्थित चीनियाँ दूतावासका प्रथम सचिवसहितको टोली केरुङ पुगेको थियो ।
बैशाख १२ गतेको भूकम्पका कारण बन्द भएको केरुङ नाका १० दिनअघि नै खुलेपनि सामान आयात निर्यात हुन सकेको थिएन । भूकम्पकै कारण चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानी पनि बन्द छ । चीनसँगको तातोपानी नाका पनि खोल्न सरकारले प्रयास गरिरहेको छ । रसुवा नाका सञ्चालन भएसँगै टिमुरेमा अध्यागमन, भन्सार, क्वारेन्टाइन लगायतका सरकारी कार्यालयहरु स्थापना गरिसकिएको छ । नाका सञ्चालनमा आएकै दिन चीन सरकारले नेपाललाई ६ ट्रक खाद्यान उपहार दिएको छ ।
रसुवा नाका पुरानो नाका भएपनि एक वर्ष अघि मात्र पूर्ण रुपमा सञ्चालनमा आएको हो । सन् २०१२ मा केरुङ भन्सारलाई अन्तर्राष्ट्रिय भन्सारको रुपमा विकास गर्दै यस नाकाबाट चीनले भारतसहित दक्षिण एशियाली देशमा जोड्न खोजेकाले पनि यो नाकालाई चीनले पहिलो प्राथमिकतामा राखेको छ ।