काठमाडौं/ असोज २७
व्यवस्थापिका–संसद् सचिवालयले सभामुख र उपसभामुखको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । संसद्को अन्तरिम कार्यविधि बमोजिम सभामुख र उपसभामुख पदमा राजनीतिक सहमतिमा निर्वाचन सम्पन्न गर्न बिहीबार ३ बजेसम्मको समयावधि तोकिएको छ ।
राजनीतिक सहमति हुन नसके सभामुख पदको निर्वाचन असोज २९ गते शुक्रबार ३ बजे र उपसभामुख पदको निर्वाचन पनि ५ बजे गर्ने गरी निर्वाचनको मिति र समय निर्धारण गरिएको छ ।
सहमतिमा हुने निर्वाचनका लागि बिहीबार ११ः३० देखि २ बजेसम्म अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा प्रस्ताव दर्ता गर्ने तथा त्यसरी दर्ता भएको प्रस्ताव बमोजिमको नामावली प्रकाशित गर्ने समय २ः३० बजेसम्मका लागि तोकिएको छ । सहमतिका आधारमा सभामुख र उपसभामुख निर्वाचित भएको घोषणा गर्ने समय बिहीबार नै दिनको ३ बजेका लागि तय गरिएको छ ।
राजनीतिक दलहरुबीच ती दुवै पदमा सहमति कायम हुन नसकेमा बहुमतीय आधारमा सभामुख र उपसभामुख पदका लागि असोज २९ गते ११ः३० बजेदेखि २ बजेसम्म उम्मेदवारका प्रस्ताव दर्ता हुनेछ । दर्ता भएका प्रस्ताव बमोजिम नामावली प्रकाशन गर्ने समय शुक्रबार २ः३० बजेसम्मका लागि तोकिएको छ ।
सभामुख पदमा निर्वाचित गरियोस भनी प्रस्तावकले प्रस्तुत गर्ने तथा समर्थकले समर्थन गर्ने र दर्ता भएका प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिने समय असोज २९ गते ३ बजेका लागि तय गरिएको छ ।
उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव सोही दिन ५ बजे निर्णयार्थ प्रस्तुत गर्ने निर्वाचन कार्यतालिका संसद् सचिवालयले प्रकाशित गरेको छ । सभामुख सुभाषचन्द्र नेम्बाङ र उपसभामुख ओनसरी घर्तीले राजीनामा दिएपछि संविधानको संक्रमणकालीन व्यवस्थाअनुसार नयाँ सभामुख र उपसभामुख चयनको प्रक्रिया अघि बढेको हो ।
संविधान जारी भएपछि बीस दिनभित्र सभामुख र उपसभामुखको चयन गर्ने व्यवस्था गरिएको छ । सभामुख र उपसभामुखले राजीनमा दिएपछि जेष्ठ सदस्य नेपा पार्टीका लक्ष्मण राजवंशीले संसद बैठकको अध्यक्षता गर्नुभएको छ ।