भक्तपुर
असोज २७
प्रधानमन्त्री के.पी. शर्मा ओली र नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे राजनीतिक संयन्त्र बनाएर सरकार सञ्चालन गर्नेबारेमा सहमत हुनु भएको छ ।
बालकोट ओली निवासमा बुधबार भएको भेटवार्तामा संविधानलाई सहज कार्यान्वयन गर्नका लागि दलहरुबीच राजनीतिक संयन्त्र बनाएर जाने कुरामा प्रधानमन्त्री ओली र नेमकिपा अध्यक्ष बिजुक्छे दुबै सहमत हुनुभएको हो ।
सरकार सञ्चालनसमेत सहज बनाउन दलहरु बीचको राजनीतिक संयन्त्र बनाउने र संयन्त्रको निर्णयअनुसार अगाडि बढ्दा सरकार स्थिर हुने तथा जनताको भावनाअनुसार काम गर्न सकिने बारेमा छलफल भएको थियो ।
भेटबारे जानकारी दिदै नेमकिपाका सचिव सुनिल प्रजापतिले भन्नुभयो – ‘राजनीतिक संयन्त्र बनाएर सरकार अगाडि बढ्ने कुरामा प्रधानमन्त्री सहमत हुनुभयो, करिब ९ जना नेता सहभागि राजनीतिक संयन्त्र बनाउने र संयन्त्रको निर्णयअनुसार सरकारले काम गर्ने कुरा भएको छ, छिट्टै राजनीतिक संयन्त्र बन्ला ।’
भेटमा भारतले गरेको नाकाबन्दी हटाउन कुटनीतिक प्रयास थाल्नु पर्ने र पारवहनका लागि भारत बाहेक अरु देशको बिकल्प पनि खोज्नु पर्ने बारेमा छलफल भएको छ ।
प्रजापतिले भन्नुभयो— ‘सरकार चीनसँगको नाका खोल्न र बिकल्पहरु खोज्न अगाडि बढ्नु पर्नेबारेमा छलफल भयो, त्यसमा प्रधानमन्त्री ओली सकारात्मक हुनुभयो ।’