नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पदभार ग्रहण गर्नुभएको छ ।
राष्ट्रपति भवन शितल निवासमा पद तथा गोपनियताको सपथ लिएका ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा पुगेर पदभार ग्रहण गर्नुभएको हो ।
देशभर रहेका ३ सय ५० तुइनको ठाउँमा झोलुंगे पुल निर्माण गर्ने निर्णय पत्रमा हस्ताक्षर गरेर ओलीले प्रधानमन्त्रीको पदभार ग्रहण गर्नुभएको हो । ती झोलुंगे पुल निर्माणमा कुल ३ अर्ब ७७ करोड रुपैयाँ लाग्ने अनुमान छ ।
पदभार ग्रहण गरेसँगै अब देशमा रोजगार सिर्जना गरेर मुलुकको आर्थिक समृद्धि गर्नमा आफ्नो ध्यान केन्द्रित रहने उहाँले बताउनुभयो ।
उहाँले तराई मधेसमा आन्दोलन गरिरहेका दलहरुसँग छिट्टै वार्ता गरी समस्या समाधान गर्ने पनि बताउनुभयो । प्रधानमन्त्रीको पदभार ग्रहण गरेपछि पत्रकारसँग ओलीले पेट्रोलियम पदार्थ छिट्टै सहज गराउने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ ।