१५ असोज, काठमाडौं । चीनसँग जोड्ने सिन्धुपाल्चोकस्थित तातोपानी सडकको लिपिङ बजारसम्म ट्रयाक खोलिएको छ । शुक्रबार लिपिङको पार्किङसम्म सानो गाडी पुगेको बताइएको छ ।
वैशाख १२ गते गएको विनाशकारी भूकम्पले सडक क्षतविक्षत हुँदा तातोपानी नाका बन्द छ । २/३ दिनभित्र नेपाल-चीन जोड्ने मितेरी पुलसम्म ट्रयाक खोलिसक्ने नेपाल चाइना चेम्बर अफ कमर्श सिन्धुपाल्चोक च्याप्टरका अध्यक्ष ज्यांबु शेर्पाले बताए ।
‘लिपिङ बजारसम्म ट्रयाक खुलिसकेको छ’ शेर्पाले भने- ‘लिपिङ बजारमा ढुलो ढुंगे पहिरो खसेको छ, अहिले त्यसलाई हटाउने काम भइरहेको छ, सायद आइतबारसम्म हटिसक्छ ।’
लिपिङमा दायाँ-बायाँ घरहरु भएको हुँदा ढुंगे पहिरो पन्छाउन समय लागेको शेर्पाले बताए । सडकबाट ढुंगा पन्छाउने काम तिब्र रुपमा भइरहेको बताउँदै उक्त पहिरो पन्छाएपछि मितेरी पुलसम्म ट्रयाक खुल्छ ।
भूकम्पको झड्काले तातोपानी सडक भत्किनुका साथै माथिबाट ठूलो पहिरो आएर पुरिएको छ । भारतले नाकाबन्दी गरेपछि तातोपानी नाका खुलाउन सडक खन्ने कामलाई तिब्रता दिइएको छ ।
लिपिङसम्म ट्रयाक खोलिए पनि ठूला कन्टेनर अझै पुग्न सक्दैनन् । सडकलाई चौडा बनाउने काम भइरहेको बताउँदै अध्यक्ष शेर्पाले कन्टेनर चलाउनका लागि अझै २/३ दिन लाग्ने जानकारी दिए ।