गौतम श्रेष्ठ
१४ असोज, रौतहट । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको केन्द्रीय कार्यक्रमअनुसार विहीबार रौतहटको हुलाकी सडकमार्गमा स्थानीयले हातमा हात जोड्दै ३१ किलोमिटर लामो मानव साङ्ग्लो बनाएका छन् ।
पूर्वमा रौतहटको बाग्मती र पश्चिममा बारा जिल्लाको सीमाना पर्ने अरुवा खोलासम्मको सडकमा दिउँसो १ बजेदेखि ३ बजेसम्म उँभिएर स्थानीयले मानव साङ्ग्लो बनाएका थिए ।
सदरमुकाम गौरसहित गाँउ-गाउँबाट आएका स्थानीयले रौतहटको पूरै हुलाकी राजमार्ग ढाकेका थिए । बाटोमा पर्ने पुल र साना नदीहरुमा समेत उभिएर उनीहरुले प्रदर्शन गरेका थिए ।
हुलाकी राजमार्गसँग जोडिएका गाउँ मात्रै नभएर छेउँछाउँका गाउँका स्थानीयसमेत प्रदर्शनमा सहभागी भएका छन् । बालकदेखि वृद्धसम्मले मानव साङ्ग्लो बनाएर मधेसी मोर्चाको माग सम्वोधन गर्न सरकारलाई सांकेतिक रुपमा दबाव दिएको मोर्चाले जनाएको छ ।