27 C
Kathmandu
Sunday, February 28, 2021
2021 Feb 28, Sunday 08:50

TRENDING .

भारतका ‘तीन बहाना’

- Advertisement -

30092015091657container_panitanki-600x0आश्विन १३, २०७२- सीमावर्ती नाकाका भारतीय भन्सार/अध्यागमन तथा सुरक्षा निकायले ‘नेपाली भूभागमा असुरक्षा रहेको, ढुवानीकर्ताले लैजान नमानेको र सुरक्षा जाँचपासको कडाइ’ का तीन प्रमुख कारण देखाउँदै सबै नाकाबाट पारवहन तथा ढुवानीको नियमित प्रक्रिया एकैसाथ रोकेको पाइएको छ ।

केन्द्र सरकारले ‘नाकाबन्दी गरिएको छैन’ भनेर जवाफ दिँदै आए पनि सबै नाकामा समान कारण देखाउँदै एक सातायता निर्यात रोकिएको छ । यसैगरी, तेस्रो देशबाट आयातित सामान र भारतबाट जाने पेट्रोलियम पदार्थ नेपाल निर्यातमा पूरै ‘नाकाबन्दी’ गरिएको तथ्यसमेत पुष्टि भएको छ ।

नेपालमा संविधान जारी भएलगत्तै भारतीय विदेश मन्त्रालयले विभिन्न चरणमा विज्ञप्ति जारी गर्दै ‘भारतीय सीमा नजिकका नेपाली भूभागमा भएका हिंसात्मक घटनामा चासो’ देखाउन थालेको थियो । गत मंगलबार (सेप्टेम्बर २२) जारी अर्को एउटा विज्ञप्तिमा ‘विद्यमान असहजताले
गर्दा हाम्रा मालवाहक कम्पनी तथा यातायातकर्मीले पनि नेपाल आवतजावतमा कठिनाइ भोग्नपुरेको र आफ्नो सुरक्षा चिन्ता प्रकट गरेको’ भन्दै विज्ञप्ति जारी गरेर ‘नाकाबन्दीको पूर्वसंकेत’ गरिएको थियो ।

‘सेप्टेम्बर २२ बाटै भारतबाट सामान ढुवानी हुने नेपालका मुख्य नाकाहरूमा भारतीय भन्सार र सीमावर्ती सुरक्षा निकायले अत्तो थाप्न थालेका थिए,’ भैरहवा भन्सारका एक अधिकृतले सुनाए, ‘दैनिक ५ सय ट्रक (कार्गो–लोडेड) यो नाकाबाट नेपाल छिर्ने गरेकोमा सेप्टेम्बर २२ मा सयवटा मात्रै ट्रकलाई जाँचपास गरेर निर्यात अनुमति दिइएको थियो ।’ त्यसपछिको रेकर्डमा सेप्टेम्बर २३ र २४ मा १५, २५ र २६ मा ५, २७ मा ४४ र २८ मा ६१ ट्रक नेपाल प्रवेश गर्न दिइएको थियो । भैरहवा क्षेत्रमा स्थानीय जनता नाकाबन्दीको प्रतिरोधमा उत्रिएपछि अनुपातमा केही बढी ट्रकलाई जाँचपास गरेर छिर्न दिइएको थियो ।

कोलकातास्थित महावाणिज्य दूतावास कार्यालयका अनुसार पूर्वी नाका काँकडभिट्टा (पानीट्यांकी) हुँदै नियमित रूपमा दैनिक १ सय ५० ट्रक नेपाल छिर्ने गरेकोमा सेप्टेम्बर २३ यता दैनिक १२/१५ को औसत अनुपातमा मात्रै ट्रकलाई सुरक्षाजाँच गरेर निर्यात अनुमति दिइएको छ । ‘काँकडभिट्टा नाकामा विरोध प्रदर्शन पनि छैन, यहाँ ढुवानीकर्ता व्यवसायी वा एजेन्टको असुरक्षा गुनासो पनि छैन,’ पानीट्यांकीस्थित एक व्यवसायीले भने, ‘तर, सुरक्षाजाँचका नाममा घण्टौं लगाएर रोकिन्छ वा अनेक बहानामा जाँचपास गरिन्न ।’

यसैगरी, विराटनगर नाकाबाट विगतमा दैनिक १ सय ७५ लोडेड–ट्रक नेपाल प्रवेश हुने गरेकोमा सेप्टेम्बर २० तारिक (संविधान जारी भएकै दिन) बाट १५/२० वटा ट्रक मात्रै पठाइन थालियो । अझ त्यहाँ नेपाली भूभागमा धर्ना जुलुस सुरु भएको बहानामा गत बुधबारबाट एउटै ट्रक पनि नेपाल छिर्न
दिइएको छैन ।

यस्तै, वीरगन्ज (रक्सौल) नाकाबाट दैनिक ६ सय ट्रक नेपाल भित्रिने गरेकोमा संविधान जारी भएकै दिनदेखि चर्को कडाइ गरिएको थियो । ‘वीरगन्ज नाकाबाट २० तारिकमा ४७ वटा मात्रै ट्रकलाई निर्यात अनुमति दिइयो भने गत बुधबारबाट एउटै पनि मालवाहक ट्रक नेपाल भित्रिएका छैनन्,’ रक्सौलस्थित एक अधिकारीले भने । यस्तै, नेपालगन्ज (रुपडिया) नाकाबाट नियमित रूपमा ७० मालवाहक ट्रक नेपाल भित्रने गरेकोमा घटेर सोमबार र मंगलबार १५/१६ वटामा सीमित भयो ।

भारतबाट नेपालतर्फ सामान निर्यात गर्ने १६ सानाठूला नाका भए पनि मुख्य ६ वटालाई मुख्य व्यापारिक नाका मानिन्छ । ‘केन्द्र सरकारको निर्देशनमा लागेको नाकाबन्दीमा कञ्चनपुर र काँकडभिट्टा नाकामा सुरक्षा जाँचपासका नाममा निर्यात कठिनाइ देखाइएको छ भने कुनै पनि नाकाबाट पेट्रोलियम पदार्थ चाहिँ नेपाल भित्र्याउन दिइएको छैन,’ पानीट्यांकी नाकाका अधिकारीले भने ।

कोलकातास्थित महावाणिज्यदूत चन्द्रकुमार घिमिरेका अनुसार आफूले सीमावर्ती नाकाका भन्सार तथा सुरक्षा निकायका अधिकारीसँग सहज ढुवानीका लागि आग्रह गर्दा ‘आफूले हरसम्भव प्रयत्न गर्ने’ भन्ने जवाफ आए पनि यसमा आफूले कुनै उल्लेख्य नतिजा नदेखेको प्रतिक्रिया दिए । उनका अनुसार कोलकाता र हल्दियामा मात्रै तेस्रो देशबाट आएका १५ सय कन्टेनर सामान झन्डै एक सातायता थन्किएको छ भने वीरगन्जमा ८ सय कन्टेनर सामान भन्सार नपुगी रोकेर राखिएको छ । यस्तै, कोलकातामा मात्रै ८० हजार मेट्रिक टन कोइला र ५० हजार मेट्रिक टन रासायनिक मल
ढुवानी अनुमति नपाएर थन्किएर बसेको छ ।

‘बितेको ४० दिनसम्म मधेस आन्दोलन भइरहँदा सीमावर्ती सुरक्षा र ढुवानीकर्ताको गुनासोबारे कहिल्यै सरोकार उठेन,’ दिल्लीमा जारी दक्षिण एसियाली आर्थिक इन्क्लेभ बैठक सहभागी एक नेपाली उद्यमीले भने, ‘संविधान जारी भएपछिको अवस्थामा भने भारतको बहानाबाजी सुरु भएको छ । कतिपय सीमावर्ती नाकामा जुलुस र अन्य व्यवधान नभए पनि एउटै बहानामा ढुवानी रोक्नु लज्जास्पद मात्रै होइन, निन्दनीय छ ।’

वाणिज्य मन्त्रीलाई ‘ब्रिफिङ’
वाणिज्य तथा आपूर्ति मन्त्री सुनीलबहादुर थापाले भारतीय समकक्षी निर्मला सीतारमणलाई पेट्रोलियम पदार्थसहित दैनिक उपभोग्य पदार्थको ढुवानीमा रोकावट आएपछि उब्जिएको कठिनाइका बारेमा ब्रिफिङ गरेका छन् ।

दक्षिण एसियाली वाणिज्य मन्त्रीहरूको सम्मेलनमा सहभागी हुन आएका मन्त्री थापाले होटल ललितमा मन्त्री सीतारमणसँग ‘साइडलाइन’ वार्ता गर्दै झन्डै एक सातायताको निर्यात रोकावटबाट जनजीवन समस्याग्रस्त बन्दै गएको बताएका थिए । ‘भारत सरकारले सीमावर्ती विन्दुसम्म उपभोग्य सामान तथा पेट्रोलियम ढुवानी गरिदिएमा नेपाल सरकारले आफ्नै सुरक्षामा उक्त सामग्री लैजान सक्ने प्रतिबद्धता सुनाएको छु,’ मन्त्री थापाले भने । नेपालमा संविधान जारी भएपछि सीमावर्ती मधेस क्षेत्रमा देखिएको समस्या सुल्झाउन राजनीतिक स्तरमा वार्ता जारी रहेको भन्दै मन्त्री थापाले नेपाल–भारतबीच कायम रहिआएको सुमधुर र ऐतिहासिक सम्बन्धका आधारमा पनि नियमित आपूर्ति सेवामा रोकावट आउँदा नकारात्मक सन्देश बढेर जाने धारणा राखेका थिए ।

छोटो छलफलमा भारतीय मन्त्री सीतारमणले कुनै जवाफ दिएकी थिइनन् । उनले मन्त्री थापासँग बुधबार बेग्लै भेटेर नेपाल मामिलामा छलफल गर्ने बताएकी छन् । मन्त्री थापाले सोमबार अपराहन भारतीय विदेश मन्त्री सुष्मा स्वराजसँग भेटवार्ता गरेका थिए । तर, विदेश मन्त्रीसँगको भेटवार्ता पनि समस्या समाधानका दिशामा उपलब्धिमूलक देखिएन । मन्त्री थापाले पेट्रोलियम मन्त्री धर्मेन्द्र प्रधान र अर्थमन्त्री अरुण जेटलीसँग समेत भेटवार्ता गर्ने पहल गरिरहेका छन् ।

रोकिएका कार्गो लोडेड ट्रक
काँकडभिट्टा (पानीट्यांकी)– ३०० बढी
वीरगन्ज (रक्सौल)– ८०० बढी
भैरहवा (सुनौली)– ३०० बढी
विराटनगर (जोगबनी)– ४०० बढी
नेपालगन्ज (रुपैडिया)– २ सय बढी
कञ्चनपुर (वनबासा)– निर्यात नियमित

ताजा खबर

- Advertisement -

Related news

31 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्