क्वालालम्पुर । मलेसियामा लगातार छ महिनादेखि तलव नपाएका ६ जना नेपाली श्रमिकहरु दूतावासको शरणमा आईपुगेका छन् ।
१७ महिना अगाडि रोजगारीको लागि मलेसिया आएर वेगन कन्टसन कम्पनीमा कार्यरत उनीहरुले पछिल्लाे ६ महिनादेखि तलव नपाएकाे गुनासो गरेका छन् । तलब नपाउनेहरुमा ओखलढुङगाका वीरसिंह तामाङ, हस्तबहादुर तामाङ, खोटाङका कुमार खड्का, गोबिन्द आचार्य, ईन्द्रबहादुर भुजेल र धनकुटाका ताराबहादुर बुढाथोकी रहेका छन् ।
काठमाण्डौको राज ओभरसिजवाट आएका उनीहरुले आफनो गुनासो मेनपावरमा राख्दा कुनै पनि सुनुवाई नभएको गुनासो पोखे । काममा गई रहदा र पैसा माग्दा नदिएपछि दुई महिना पहिलेदेखि उनीहरुले काम काज रोकेका थिए । खानको लागि दुई महिनापछि कम्पनीले दिएको दुई सय रिंगेटले आजसम्म बाँचिरहेका उनीहरुले बताए ।
कम्पनीलाई कि तलब दिनु पर्यो कि हामी नेपाल जान्छौ भन्दा पनि कम्पनीले बेवास्ता गरेपछि दूतावासको शरणमा आईपुगेको उनीहरुले वताए । दुतावासले पीडित नेपालीहरुको लागि पहल गर्ने वताएको छ ।