27 C
Kathmandu
Thursday, March 4, 2021
2021 Mar 04, Thursday 06:23

TRENDING .

सबै सेवाका लागि एउटै इमर्जेन्सी नम्बर

- Advertisement -

आश्विन ५, २०७२- केही समस्या पर्‍यो, कसलाई फोन गर्ने फरक फरक निकायका लागि फरक नम्बर छन्। आवश्यक हुँदा नम्बर याद हुन्छ या हुँदैन। यस्तो स्थितिमा आवश्यक पर्नासाथ सहयोग पाउने सम्भावना कम हुन्छ। यस्तो समस्यालाई हटाएर सरकारले अब एउटै इमर्जेन्सी नम्बर ल्याउने तयारी थालेको छ। तत्काल चाहिने सेवाका लागि अब फरक फरक नम्बर डायल गर्नुपर्ने छैन। सरकारले नेपाल दूरसञ्चार प्राधिकरणमार्फत सर्वसाधारणको सहयोगका लागि आगामी आर्थिक वर्षमा एउटै इमर्जेन्सी नम्बर सार्वजिक गर्ने भएको हो। जुन नम्बरबाट प्रहरी, दमकल, एम्बुलेन्स र अन्य सेवाका लागि सहयोग माग्न सकिनेछ।

प्राधिकरणले यसका लागि आवश्यक अध्ययन गरी आगामी आर्थिक वर्ष लागू गर्ने योजना तय गरेको हो। अमेरिकामा ९११ र बेलायतमा ९९९ डायल गरी सबै सेवा लिन सकिने एउटै इमर्जेन्सी नम्बर छ। यही अवधारणालाई पछ्याउँदै नेपालमा पनि यसलाई स्थापित गर्न खोजिएको प्राधिकरणका सहप्रवक्ता अच्युतानन्द मिश्रले बताए।

हाल नेपालमा प्रहरीका लागि १०० डायल गरेर सहयोग लिन सकिन्छ। त्यस्तै एम्बुलेन्सका लागि १०२, ट्राफिक प्रहरीका लागि १०३, बालबालिका खोजी गर्ने समन्वय निकायका लागि १०४ र काठमाडौं सेनाका लागि १०५ डायल गर्नुपर्छ। तर अन्य जिल्लामा रहेकाले यो नम्बर डायल गर्दा काठमाडौं कुरा गर्नुपर्ने र यहाँबाट सम्बन्धित निकायमा खबर गर्नुपर्ने हुँदा लामो समय लाग्ने स्थिति छ। सम्बन्धित निकायसम्म सहयोग चाहिनेको कुरा पुग्ने/नपुग्ने पनि अन्योल छ।

यी नम्बरको सबै दूरसञ्चार सेवा प्रदायकका ग्राहकसम्म पहुँच पनि छैन। यसलाई सबैसम्म नि:शुल्क पुर्‍याउने र एउटै इमर्जेन्सी नम्बरमा फोन गरेपछि आवश्यक निकायको एक्सटेन्सन नम्बर डायल गरी सिधै सेवा लिन सक्ने स्थिति सिर्जना गर्न खोजिएको मिश्रले बताए। प्राधिकरणले राष्ट्रिय दूरसञ्चारमा आउने सम्भावित योजनाअन्तर्गत समावेश गरेर काम थालेको हो।

‘यसका लागि कार्यदलले कुन मोडालिटीमा जाँदा सबैसम्म यो सेवाको पहुँच पुर्‍याउन सकिन्छ भनेर प्रतिवेदन तयार गर्नेछ,’ उनले भने, ‘जसलाई सबै सेवा प्रदायकको नेटवर्कमा रहेकाले प्रयोग गर्न सक्नेछन्।’

हालै मात्र भारतीय सरकारले एउटै इमर्जेन्सी नम्बरका रूपमा ११२ नम्बर सञ्चालनमा ल्याएको छ। भारतको दूरसञ्चार नियमकले यो नम्बरको सेवा मोबाइल प्रयोगकर्ता र ल्यान्डलाइन फोन दुवैबाट लिन सकिने जनाएको छ। इमर्जेन्सी सेवाका लागि यो नम्बरमा म्यासेज पठाउन पनि सकिने व्यवस्था छ।

अन्तर्राष्ट्रिय रूपमा सञ्चालन भइरहेका इमर्जेन्सी नम्बरको अवधारणाअनुसार नयाँ पनि तीन अंककै नयाँ नम्बर ल्याइने प्राधिकरणले जनाएको छ। हाल सञ्चालनमा रहेका इमर्जेन्सी नम्बरलाई ‘सेकेन्डरी’ रूपमा प्रयोग गर्न सकिने मिश्रले बताए।

अहिले पनि प्रयोग भएकाले इमर्जेन्सी नम्बरलाई सरकारले सबै सेवा प्रदायकको पहुँचमा पुर्‍याउन नसकेको अवस्था नयाँलाई व्यवस्थापन गर्नु चुनौती भएको एक निजी दूरसञ्चार सेवा प्रदायकका अधिकारीले बताए। ‘योजना राम्रो छ, यसलाई प्रभावकारी बनाउन प्राधिकरणले सबै सम्बन्धित निकायसँग समन्वय गर्न सक्नुपर्छ,’ उनले भने, ‘नभए अहिले रहेका नम्बर जस्तै त्यसले खासै महत्त्व राख्ने छैन।’ यो सेवा नि:शुल्क दिने या न्यून शुल्क लिएर दिने हो, राम्ररी अध्ययन हुनुपर्ने उनले बताए।

ताजा खबर

- Advertisement -

Related news

20 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्