27 C
Kathmandu
Monday, March 1, 2021
2021 Mar 01, Monday 10:51

TRENDING .

सुबास नेम्वाङ : संविधानको मियो

- Advertisement -


​आश्विन २, २०७२- अघिल्लोचोटि संविधानसभा विघटनसँगै सुवासचन्द्र नेम्वाङ सभाध्यक्षबाट ‘अधिवक्ता’ मा झरेका थिए…– अधिक निराशासहित । दोस्रोपालि ३ सय २८ घण्टा संविधानसभाको बैठक चलाउँदै अन्तत: नेपालीका निम्ति नयाँ संविधान दिलाउन सफल भएका छन् । सँगै उनको अनुहारमा हाँसोको लहर टुटेको छैन ।

मुलुकलाई संविधान दिलाउन सकेकामा खुसीले पुलकित छन् उनी । त्यो दिन अर्थात् बुधबार रात ढल्किँदै थियो । जब संविधानसभाबाट अत्यधिक मतले संविधान पारित भएको घोषणा भयो, तब त्यो ऐतिहासिक क्षणको रौनकमा सदनमा नेता तथा सभासदहरू उन्मुक्त हाँसोमा हात मिलाउने, गला मिलाउनेदेखि फोटो सेसनको सिलसिला निकैबेर चलिरह्यो ।

त्यो उन्मुक्त क्षणमा नेम्वाङ सामेल हुन पाएनन् । सभाध्यक्षको कुर्सी छाड्न नमिलेपछि उनी दृश्य कैद गर्ने पात्र मात्र सीमित रहे । तर उनमा पनि उन्मुक्त हाँसोको पारा निरन्तर छुटिरह्यो । ‘मलाई पनि कुर्सीबाटै उफ्रेर उनीहरूसँग खुसी साटासाट गर्न मन नलागेको कहाँ हो र ?’ नेम्वाङ भन्छन्, ‘तर कुर्सी खाली राख्न मिलेन । उनीहरूको उन्मुक्त चहल–पहल हेरेरै रम्न बाध्य भएँ ।’

संविधान निर्माणको अन्तिम समय सर्वत्रको चासो संविधानसभाभित्र थियो । धेरैको आँखा त्यही केन्द्रित थियो । स्थायी संविधान नहुनुको दसवर्षे पीडाबाट मुलुकले मुक्ति खोजिरहेको क्षण थियो । नेपालको संविधानको परिमार्जित विधेयकका धाराहरू र त्यसमा परेका संशोधनहरू प्रक्रियाबाट टुंगो लगाउन १६ घन्टा ४० मिनेट बैठक चलिरह्यो ।

३०८ धारासम्ममा संशोधन र पारित शृंखलामा एकोहोरो नेम्वाङ भट्याइरहे– ‘….पक्षमा हुने माननीयज्यूहरूले ‘हुन्छ’ भन्नुहोला, विपक्षमा हुने माननीयज्यूहरूले ‘हुन्न’ भन्नुहोला ।’ ‘हुन्छ’ र ‘हुन्न’ शब्दको त्यो निरन्तरको क्रियाकलाप धेरैका निम्ति पट्यारलाग्दो पनि भयो ।

‘तपाईंलाई पट्यार लागेन ?’ यो पंक्तिकारले सोधेको प्रश्नमा उनको जवाफ थियो, ‘त्यतिखेर त त्यस्तो लागेन । तर यतिखेर त्यति लामो समय कसरी बिताएँ भन्ने मनमा लागिरहेको छ । त्यतिखेर जसरी पनि सहजतापूर्वक जिम्मेवारी निर्वाह गर्नु थियो, त्यसो हुँदा त्यसैमा एकाग्र भइयो । त्यसरी प्रस्तुतीमा अप्ठ्यारो मान्नुभन्दा चाँडोभन्दा चाँडो संविधान पारित गरी खुसीको क्षण ल्याउनुमै ध्यान मग्न थिएँ ।’

बैठक चलिरहँदा सभासदहरू त यसो मौका पारेर उठबस गर्न पाउँथे । संविधानसभा परिसरबाट बाहिर निस्कँदै भित्र पस्दै पनि गरे । तर सभाध्यक्षलाई त्यसरी उठ्न मिलेन ।

उनले मानवीय कारण धेरैपटक बैठकमा ‘ब्रेक’ लगाउन नदिन ‘खानपिन शैली’ बदले । भन्छन्, ‘बैठक रोक्न नदिन मैले खानपिन शैली पनि त्यसैअनुरूप ढाले । त्यही कारणले बैठक लामो समयसम्म नियमित रहन पुग्यो ।’

अघिल्लो संविधानसभा कालमा जुन पीडा भोग्नुपरेको थियो, यसपालि त्यो कष्टमा पार्न हुन्न भन्ने मान्यताले कारणले पनि ‘हतारो’ को मात्रा बढेको हो ।

अघिल्लो पालि उनी बारबार भन्थे, ‘संविधान नबन्नु भनेको अँध्यारो सुरुङभित्र प्रवेश गर्नु हो । त्यसबाट उत्पन्न हुने अराजकता र अन्योल नेताहरूले चिर्न सक्दैनन् र सुरुङबाट बाहिर निस्कन कठिन हुनेछ ।’ संविधान नबनेपछि मुलुकले दोस्रो संविधानसभाका चुनावका निम्ति ठूलो धनराशि खर्च गर्नुपर्‍यो भने समयको बर्बादीको कुनै हिसाब नै छैन ।

‘जसरी अघिल्लो संविधानबेगर संविधानसभाको मृत्यु हुँदा अत्यधिक दु:ख महसुस गरेको थिएँ’ उनी भन्छन्, ‘यसपालि जसरी संविधान बनेको छ, त्यसपछि उत्पन्न चरम आनन्दलाई शब्दले वर्णन गर्न सक्दिनँ ।’

मुलुकलाई जनप्रतिनिधिको हस्ताक्षरमा ऐतिहासिक संविधान दिलाएपछि नेम्वाङ पूर्ववत् कानुन व्यवसाय मात्रमा फर्कने हुन् कि त्यही पदमा निरन्तरता रहने हो या अझ माथिल्लो उक्लने हो, आगामी दिनले बताउला ।

उनैले प्रमाणीकरण गरेको संविधानमा अधिवेशन चलेको बीस दिनभित्र राजनीतिक सहमतिका आधारमा व्यवस्थापिका–संसद्को नयाँ सभामुखको निर्वाचन हुने व्यवस्था छ । अर्थात् संसद्को सभामुखमा अर्को व्यक्ति आउन सक्छन्, दलीय पदीय भागबन्डा मिलाउने क्रममा ।

‘कुनै पद पाउने आश्वासन पाउनुभएको छ ?’ उनै नेम्वाङसँग शुक्रबार दिउँसो प्रश्न राख्दा उनमा फिस्स र अन्योलपूर्ण हाँसो गुन्जियो । ‘राजनीतिक दलहरूबीच भद्र सहमति भइसकेका टीकाटिप्पणीहरू बाहिर आइरहन्छन्’ उनी भन्छन्, ‘प्रधानमन्त्रीदेखि नेताहरूसँग भेट भइरहेको हुन्छ, बाहिर जनताले सहमतिबारे जान्न चाहिरहेका छन् भनी सोध्यो भने उहाँहरू फिस्स हाँस्नु मात्र हुन्छ । शब्दमा जवाफ दिनुहुन्न ।’

उनलाई ‘रहर’ त फेरि सर्वोच्च अदालतमा वरिष्ठ अधिवक्ताका रूपमा नयाँ संविधानको व्याख्या गर्ने छ । ‘माननीय न्यायाधीशज्यू, संविधानसभाबाट निर्मित संविधानको धारा…को मर्म तथा भावना यो हो र यसले यसो भन्छ भनी व्याख्या गर्ने रहर मलाई छ’ उनी भन्छन्, ‘बहस गर्ने व्यक्तिगत धित अझै मरेको छैन । तर पार्टीहरूले के भन्छन्, त्यो आफ्नो ठाउँमा छँदै छ ।’ अर्थात् राजनीतिमा सक्रिय पात्रलाई पदीय लोभबाट मुक्ति मिलिसकेको देखिँदैन ।

त्यसकारण उनी दलहरूको ‘भद्र सहमति’ भित्र अन्तरनिहित ‘भागबन्डा’को परिणाम सुन्न पनि आतुर छन् । संविधानको घोषणापछि राष्ट्रपति कांग्रेसको भागमा, एमालेलाई प्रधानमन्त्री, एमाओवादीको भागमा सभामुख परेको हल्का टिप्पणी आइरहेका छन् । शीर्ष नेताहरूले पनि मुख खोलेका छैनन् । त्यही कारण नेम्वाङको आशा पनि ‘अन्योलपूर्ण’ देखिन्छ ।

उनले राजनीति, अध्यापन र कानुन व्यवसायको यात्रालाई सँगसँगै अघि बढाउँदै आएका हुन्– २०२८ देखि । नेम्वाङका कुल–कुटुम्ब नै खानदानी कांग्रेस हुँदाहुँदै पनि उनी विद्यार्थीकालमै कम्युनिस्टसँग आबद्ध हुन पुगे ।

त्यतिखेर कम्युनिस्ट पार्टीभित्र अनगिन्ती धार र गुट थिए । मालेमा संगठित हुँदै अघि बढेका हुन् । त्यही माले २०४७ पुसमा माक्र्सवादीसँग एकीकरणपछि एमालेमा पनि निरन्तर छन्, सभामुख हुँदा पार्टी जिम्मेवारी बाहिर रहनुबाहेक । राजनीतिमा पदीय जिम्मेवारी नहुँदा कानुन व्यवसाय गर्न पुग्थे भने पदीय जिम्मेवारीसँगै त्यो व्यवसायबाट बिदा लिन्थे ।

२०४८ मा राष्ट्रियसभाको सांसद मात्र हुँदाका बखत भने उनले कानुन व्यवसाय पनि सँगै अघि बढाए । उनी राजनीति र पेसालाई सँगसँगै अघि बढाउनसके मात्र ‘शुद्धीकरण’ हुने विश्वास राख्छन् । भन्छन्, ‘म राजनीतिक मानिस हुँ । तर राजनीतिलाई पेसा बनाउनु हुन्न भन्ने मान्यता राख्छु । राजनीतिलाई पेसा बनाउने होडकै कारण विकृति सिर्जना भएको हो ।’

२०५१ मा एमालेको नौमहिने सरकारमा मन्त्री बन्न पुगे र कानुन व्यवसायबाट बाहिरिए । २०५६ को आमनिर्वाचनमा प्रतिनिधिसभा सदस्य भएपछि त्यो पेसालाई निरन्तरता दिन नैतिकताले मिलेन ।

खराब आचरणमा संलग्न प्रदर्शन गर्ने न्यायाधीशलाई महाअभियोग लगाउने थलो प्रतिनिधिसभा भएकाले बहसमा जान अप्ठ्यारो परेको हो । सँगै लेखा समितिको सभापतिको नाताले पनि कानुन व्यवसायबाट बाहिर राख्यो ।

जब २०५९ जेठ ८ मा प्रतिनिधिसभाको हठात् विघटन भयो, त्यसपछि फेरि कानुन व्यवसायतिर फर्के– लोकतान्त्रिक आन्दोलनमा पनि सक्रिय हुँदै । लोकतन्त्र बहालीसँगै २०६३ वैशाखमा पुन:स्थापित प्रतिनिधिसभाको सभामुख बनेपछि कानुन व्यवसायबाट विदा लिएका थिए ।

जब बिनासंविधान पहिलो संविधानसभा अवसान हुन पुग्यो, पीडाबोधसहित पायोनियर ल फर्ममा फर्केका थिए । दोस्रो संविधानसभा निर्वाचनमा निर्वाचित भए, फेरि उनलाई पुरानै पद मिल्यो, संविधानसभाको सभाध्यक्ष र व्यवस्थापिका–संसद्को सभामुख ।

उनमा कसैलाई चिढ्याउन नचाहने, चर्को विरोध गर्नेलाई मीठो रकमी भाषामा अलमल्याउने अचम्मको शैली छ । गएको बुधबार संविधानका सबै धारा पारित भइसकेका थिए । एकजना सभासद बखेडा झिक्न खोज्दै थिए ।

उनले ती माननीयलाई जवाफ फर्काए, ‘माननीयज्यूलाई नियमावलीका दफा खोज्न म सहयोग गरिदिउँm ।’ त्यसपछि ती सभासद अन्योलमा परे । अन्योलबीच उनले संशोधनलाई ‘हुन्छ’ कि ‘हुन्न’ मा होमिदिए ।

तिनको प्रस्ताव पारित हुने कुनै सम्भावना थिएन, सजिलै तिनको बखेडा अन्त्य गरिदिए । नेम्वाङ सिधा होइन, घुमाउरो भाषा प्रयोग गर्छन् । कसैप्रति सिधै आक्षेप या आरोप लगाउँदैनन् । प्रतिवाद गर्दाका बखत उनको शब्दावली हुने गर्छ, ‘तपाईंको आरोपलाई म विनम्रतापूर्वक अस्वीकार गर्छु ।’

त्यसो त अघिल्लो कार्यकालमा उनको त्यो ‘नचिढ्याउने शैली’ पनि संविधान नबन्नुको कारक ठान्नेहरू पनि कम थिएनन् ।

अघिल्लो कार्यकालको उनको थेगो यसपालि कमै गुन्जियो, ‘उच्चस्तरीय राजनीतिक सहमतिका निम्ति प्रयत्नरत छु, अब संविधान बन्छ ।’ यसपालि भूकम्पसँगै सिर्जित पीडाको माहोललाई मलम लगाउन ठूला राजनीतिक दलहरू सहमतिको बाटोमा होमिए, त्यही कारण पनि नेम्वाङलाई ‘उच्चस्तरीय सहमति’ को मन्त्र जप्नु परेन ।

जनप्रतिनिधिमूलक संस्थाबाट लोकतान्त्रिक प्रक्रिया अनुरूप संविधान निर्माण भएको छ । संविधान पारित भएपछि खुसीको संख्या अधिक भए जस्तै खुला स्वरमा देखिएको ‘असन्तुष्टि’ पनि न्यूनीकरण आएको छैन । फेरि संविधानसँगै आकांक्षा तीव्र स्तरमा बढेको छ ।

संविधान कार्यान्वयनमा पनि उत्तिकै जटिलता छन् । संविधान निर्माणमा जस्तो कठिनाइ आइपर्‍यो, कार्यान्वयनमा उत्तिकै चुनौती भएको धारणा राख्छन् नेम्वाङ पनि । तर उनी आशावादी स्वरमा भन्छन्, ‘जसरी संविधान निर्माणमा ठूला राजनीतिक दलहरू एक ठाउँमा उभिन पुगे, त्यही जगमा उभिएर कार्यान्वयन गर्न अघि बढ्ने हो भने चुनौती पनि सहज सामना हुनेछ ।’

ताजा खबर

- Advertisement -

Related news

1 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्