२ असोज, काठमाडौं । असन्तुष्ट दलका सभासदहरुलाई संविधान घोषणा हुनु एक घन्टा अघिसम्म हस्ताक्षर गर्न समय दिइएको छ ।
प्रक्रियामा सहभागी सभासदहरुले हस्ताक्षर गरेपछि सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले शुक्रबार नै नयाँ संविधान प्रमाणीकरण गरिसकेका छन् ।
तर, असन्तुष्ट तथा छुटेका सभासदहरुलाई समेट्ने उद्देश्यले हस्ताक्षरका लागि भोलिसम्म संविधानका प्रतिहरु खुलै राखिने सभाध्यक्ष नेम्वाङले बताए । सिंहदरवारमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेवाङले भने-तपाईहरु कुनै पनि बेला संविधानसभा सचिवालयमा आएर नयाँ संविधानमा हस्ताक्षर गर्न सक्नु हुनेछ ।’
आइतबार अपराहृन ४ बजेसम्म छुटेका सभासदहरुले हस्ताक्षर गर्न सक्नेछन् । ५ बजे औपचारिक समारोहका बीच राष्ट्रपति डा. रामवरण यादवले घोषणा गर्नेछन् ।
सभाध्यक्ष नेम्वाङले भने-संविधान युगमा एक पटक बन्ने हो । यसमा कोही छुट्नु हुँदैन । सभाध्यक्षलाई प्राप्त विशेषाधिकार प्रयोग गर्दै भोलि चार बजेसम्म हस्ताक्षर गर्ने समय मिलाएको छु ।’
५ सय ९८ सभासदहरुमध्ये ५ सय ३७ सभासदले नेपालको नयाँ संविधानमा हस्ताक्षर गरेका छन् । ६० जना सभासदले संविधानमा हस्ताक्षर गरेनन् ।
मधेसकेन्द्रित दलका ५७ जना र एमाओवादीका प्रभु साहसमेत गर्दा ५८ सभासद घोषित रुपमै प्रक्रियामा छैनन् । कांग्रेसका प्रदीप गिरी र खुमबहादुर पत्नी शीला खड्का भारतमा छन् ।