अपराधीको अपराध ठहर भएमा उसलाई जेल वा जरिवाना सजाय गरिन्छ । तर इरानमा भने न्यायाधीशले अनौठो सजायको प्रथा सुरु गरेका छन् । त्यहाँ कतिपय अपराधमा अपराधीलाई जेलको साटो किताब किनेर पढ्नुपर्ने सजाय सुनाउन थालिएको छ ।
उत्तरपूर्वी सहर गोनवाद इ काभसका न्यायाधीश क्वासीम नक्विजादेहले वैकल्पिक तथा रचनात्मक सजाय सुरु गरेका हुन् । अभियुक्त तथा उसको परिवारमा अपूरणीय भौतिक तथा मनोवैज्ञानिक प्रभाव पर्न नदिन यस्तो गरिएको दाबी उनको छ ।
त्यस अनुसार अभियुक्तलाई पाँचवटा किताब किन्न, त्यसलाई राम्रोसँग पढ्न तथा त्यसको सारांश लेखेर न्यायाधीश सामु पेश गर्न आदेश दिइन्छ । त्यसपछि ती किताबहरु स्थानीय जेललाई नै हस्तान्तरण गन्छि ।
यो सजाय वास्तवमै आत्मिक तथा बौद्धिक छ । किताबको सारांश सँगै अभियुक्तले मोहम्मदका कथनहरु पनि लेख्नुपर्छ । यद्यपि यस्तो सजाय भने निकै सामान्य कसूर गरेका अभियुक्त तथा त्यसअघि अन्य अपराध नगरेका किशोर किशोरीहरुको हकमा मात्र लागु हुनेछ ।