२७ भदौ, काठमाडौं । सनातन हिन्दू धर्मावलम्बीहरूको पवित्र वनस्पति कुशलाई घरघरमा भित्रयाउने दिनका रूपमा आइतबार कुशे औँसी मनाइँदै छ ।
प्रत्येक वर्षको भाद्रकृष्ण औँसीका दिन पर्ने यो दिन घरघरमा कुश भित्रयाउनुका साथै आफ्ना बुबाको मुख हेर्ने र विभिन्न परिकार खुवाउने प्रचलन छ ।
‘कुश’ देवकार्य तथा पितृकार्य दुवैमा प्रयोग गरिने पवित्र वनस्पति हो । कुशलाई शालिग्राम, तुलसी तथा पिपललाई जस्तै भगवान विष्णुका रूपमा पूजा गरिन्छ ।
शास्त्रीय मान्यताअनुसार पुरोहित वा ब्राहृमणले मन्त्रोच्चारण गरी वैदिक विधिका साथ काटिएको कुश आˆना यजमानका घरघरमा पुर्याउने र कुश लैजाने पुरोहित वा ब्राहृमणलाई यजमानले सिदा र दक्षिणा दान गर्ने प्रचलन छ ।
कुशलाई बेरेर बनाइने विशेष प्रकारको औँठी जसलाई ‘पवित्र’ भनिने र त्यसलाई धारण नगरी गरिने कुनैपनि धार्मिक कार्यबाट फल प्राप्त नहुने विश्वास रहिआएको ज्योतिषी पण्डित धर्मराज चापागाईले बताए ।
बौद्ध धर्मावलम्बीसमेतले पवित्र वस्तुका रूपमा लिने कुशलाई घरमा राखे मात्रै पनि घर पवित्र हुने धार्मिक विश्वास रहेको उनको भनाइ छ ।
बुबाको मुख हेर्ने दिन आज
कुशे आैँसीका दिन छोराछोरीले आˆना बाबुलाई मनपर्ने खानेकुरा, फलफूल, मिठाई खुवाएर तथा कपडा उपहार दिएर सम्मान आदरभावका साथ मुख हेर्ने चलन प्राचीन कालदेखि चलिआएको संस्कृतिविद् हरिराम जोशीले जानकारी दिए ।
“मातृदेवो भवः, पितृदेवो भवः, आचार्यदेवो भवः र अतिथिदेवो भवः भन्दै परापूर्व कालदेखि जन्म दिने आमा, बुबा, गुरु र अतिथिलाई देवताको रूपमा मान्ने प्रचलन थियो,” उनले भने, “कुशे औँसीका दिन बाबुलाई छोराछोरीले श्रद्धापूर्वक रूचिअनुसारको खानेकुरा खुवाई आशीर्वाद लिने गरिन्छ ।”
बुबाबाट आशिर्वाद प्राप्त गरेमा सुख शान्ति मिल्ने विश्वासका आधारमा विभिन्न कारणले घरबाट टाढा रहेका छोराछोरीले समेत समय निकालेर घरमा पुगी बाबुलाई मनपर्ने खानेकुरा खुवाउने र नयाँ वस्त्र उपहार दिने गर्दछन् ।
बाबु नहुनेले भने काठमाडौँ उत्तरपूर्वमा अवस्थित गोकर्णेश्वर महादेव, रसुवाको बेत्रावती, तनहुँको देवघाट, सुनसरीको विष्णुपादुका तथा बराहक्षेत्र लगायतका पवित्र तिर्थस्थल पुगेर स्नान गरी पितृहरूको नाममा श्राद्ध गरी तर्पण दिई दान दिने गर्दछन् ।