२४ भदौ, भैरहवा । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठक विहीबार बिहान भैरहवा सुरु भएको छ । वार्ताका लागि तीन दलले गरेको संयुक्त अपीलबारे मोर्चाको बैठकले औपचारिक धारणा बनाउने बैठकको कार्यसूची छ ।
फाइल तस्वीर
प्रमुख तीन दलले बुधबार साँझ संयुक्त अपीलमार्फत् आन्दोलनरत दलहरुलाई वार्तामा आउन आग्रह गरेपछि त्यसको भोलिपल्ट मोर्चाका नेताहरु बैठकमा जुटेका हुन् ।
भैरहवा रेडसन होटलमा आयोजित बैठकमा मधेस आन्दोलनको समीक्षा र भावी योजनाका विषयमा पनि छलफल हुने नेताहरुले बताएका छन् ।
बैठकमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र तराई मधेस सदभावना पार्टीका अध्यक्ष महेन्द्रराय यादवलगायतका नेताहरु सहभागी छन् ।
भैरहवामा बुधबार आयोजित सभालाई सम्बोधन गर्नका लागि मोर्चामा आवद्ध चारवटै दलका शीर्षनेताहरु भैरहवा आइपुगेका हुन् । सभाको भोलिपल्ट विहीबार बिहानै उनीहरु बैठकमा जुटेका हुन् ।
गच्छदार र अनिल झाको विषयमा पनि छलफल हुने
मोर्चाको बैठकमा नेपाल सदभावना पार्टीका अध्यक्ष अनिल झाको नेतृत्वमा रहेको संघीय मधेसी मोर्चा र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारको नेतृत्वमा रहेको संघीय लोकतान्त्रिक मोर्चाका साथै आन्दोलनरत अन्य मधेसी दलहरुसँग सहकार्य गर्ने बारे पनि छलफल हुने स्रोतले बतायो ।