२४ भदौ, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले नयाँ संविधान चार नेताले मात्र नबनाएको बताएका छन् ।
संविधानको विधेयकमाथि दफावार छलफलमा भाग लिँदै कांग्रेस उपसभापति पौडेलले प्रजातान्त्रिक प्रक्रियाबाट संविधान बनाएको बताए । ‘अघिल्लो सविधानसभाको चार वर्ष, विभिन्न समिति र संविधानसभामा छलफल भएको छ । अहिले पनि संशोधन राखेका छौं । यो प्रजातान्त्रिक प्रक्रियाबाट बनेको छ’ उनले भने, ‘२/४ जना बसेर बनाएको भन्नु अन्याय हुन्छ ।’
कांग्रेस उपसभापति पौडेलले मधेसी मोर्चासँग भएको २२ र ८ बुँदे सम्झौता कार्यान्वयन गर्न तयार रहेको बताए । तत्कालीन शान्ति मन्त्रीको हैसियतमा २२ बुँदेमा हस्ताक्षर समेत गरेका पौडेलले भने-‘विगतको सम्झौता कार्यान्वयन गरेर नै संविधान जारी गर्न खोजिएको छ ।’
२२ र ८ बुँदे सम्झौताका धेरै विषय कार्यान्वयन भएको र बाँकी संविधान जारी भएपछि कार्यान्वयन हुने उनले बताए ।
कांग्रेस नेता पौडेलले आन्दोलनरत पक्षलाई वार्तामा आउन समेत आग्रह गरेका छन् । उनले भने, वार्ता गर्न उहाँहरु आउनु भयो भने रोकिन सक्छौं । मिल्न सक्छौं । तर, वार्ता नै नगर्ने भनेपछि संविधान नबनाएर रोकि बस्न सक्दैनौं ।’
यसैगरी एमाले उपाध्यक्ष भीम रावलले आन्दोलनरत पक्षहरुलाई वार्तामा आउन आग्रह गरेका छन् । उनले अब संविधान निर्माण प्रक्रिया नरोकिने र केही दिनमा नै संविधान पारित गर्ने प्रक्रिया सुरु हुने बताए ।