२३ भदौ, काठमाडौं । भारतको गुडगाउमा नेपाली आमाछोरीलाई बन्धक बनाएर बलात्कार गरेको आरोप साउदी अरबका कूटनीतिज्ञमाथि लागेको छ ।
एउटा फ्लाटमा बन्धक बनाएका नेपाली आमाछोरीलाई प्रहरीले उद्धार गरेको छ । एसपी राजेश कुमारका अनुसार एक एनजीओले दिएको उजुरीका आधारमा प्रहरीले छापा मारेर उनीहरुको उद्धार गरेको हो ।
उद्धार गरेकी महिला ४० वर्षकी छिन् भने उनकी छोरी २० वर्षकी छिन् । उनीहरु गत वैशाख १२ को विनाशकारी भूकम्पपछि भारत पुगेका थिए । उनीहरुलाई नयाँ दिल्लीस्थित साउदी अरब दूताबासका एक कर्मचारीले बन्धक बनाएर लगातार शारीरिक शोषण गर्दै आएको आरोप लागेको छ ।
भारतीय प्रहरीले तीनजनाविरुद्ध अभियोग दर्ता गरेको छ । तर, अहिलेसम्म कसैलाई पक्राउ नगरिएको भारतीय टीभी एबीपी न्यूजले जनाएको छ ।
समाचारमा जनाइए अनुसार दूताबासका तीन कर्मचारीले नेपाली आमाछोरीलाई सुरुमा साउदी लगेका थिए । १५ दिनपछि उनीहरुलाई फेरि भारतको गुडगाउँमा ल्याए र पटक-पटक बलात्कार गरे ।
उद्धार गरिएकी आमाछोरीले दिएको बयानअनुसार साउदीका ती कुटनीतिज्ञले अरु पनि लिएर आउने जाने गर्थे र उनीहरुले पनि शारीरिक शोषण गर्थे ।
आफूहरुलाई कोठामा थुनेर राख्ने र बलात्कार गर्ने गरेको पीडित महिलाले बताएकी छिन् । उनले भनिन्-बलात्कार गर्थे, खाना पनि दिँदैनथे । चार महिना भयो, पैसा पनि पाएको छैन ।’
भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले यसबारे भारतको प्रहरीले अनुसन्धान गरिरहेकाले थप केही भन्न नसक्ने बताएका छन् ।
उद्धार गरिएका आमाछोरीलाई नेपाल ल्याइने बताइएको छ ।