२३ भदौ, ताप्लेजुङ । सेतो पुतलीबाट लाग्ने ‘सापु’ रोगको संक्रमणबाट बालबालिकालाई बचाउन सेतो पुतलीसँग सावधानी अपनाउनुपर्ने चिकित्सकहरुले सुझाव दिएका छन् ।
उक्त रोग १० वर्ष मूनिका बालबालिकामा देखिने भएकाले अभिभावकले बालबालिकालाई सेतो पुतलीबाट जोगाउनुपर्ने डिचेन डोङ्गला आँखा उपचार केन्द्र ताप्लेजुङका चिकित्सक डाक्टर काजी गुरुङले बताए । उनले भने-‘यो संक्रमण सरुवा हुँदैन । विशेषगरी एउटा आँखामा मात्र संक्रमण देखिन्छ ।’
सापुको संक्रमण भएमा आँखा रातो हुने, सुन्निने, आँखा खोल्न कठिन हुने, धमिलो देखिने, एकदमै दुख्ने तथा संक्रमितलाई ज्वरो आउने गुरुङले बताए । आँखामा यस्तो समस्या देखिने वित्तिकै स्वास्थ्य संस्था लैजान उनले सुझाव दिएका छन् ।
संक्रमण भएको तीन दिनभित्रमा उपचार नभए संक्रमितको आँखाको ज्योति गुम्न सक्ने डा. गुरुङको भनाइ छ ।
संक्रमण हुनै नदिनका लागि सरसफाईमा विशेष ध्यान दिन, किराफट्यांग्राको सम्पर्कबाट जोगिन र आँखा दुखेको बेला लापरवाही नगर्न चिकित्सकहरुले आग्रह गरेका छन् ।
ताप्लेजुङमा वर्षेनि यो समयमा ६/७ जना पुतलीको संक्रमणबाट भएको आँखाको बिरामी उपचारका लागि अस्पताल पुग्ने गरेका छन् ।