भाद्र २२, २०७२- दमक स्वदेश फिर्तीको माग गर्दै भुटानी शरणार्थीले मंगलबार झापाको बेलडाँगी शिविरमा सत्याग्रह सुरु गरेका छन् । स्वदेश फिर्तिको पहल छिट्टो थाल्न उनीहरुले नेपाल सरकार र शरणार्थी सम्बन्धी राष्ट्र संघीय उच्च आयोगसमक्ष माग गरेका छन् ।
भुटानी शरणार्थी जनमञ्चको आयोजनामा थालिएको सत्याग्रहमा करिब २ सय शरणार्थी धर्नामा बसेका छन् । धर्ना बसेका अधिकांश बृद्ध उमेरका, आफन्त तेस्रो देश पुनर्स्थापना भएर एक्लिएर बसेकाहरु छन् । ‘यो हाम्रो सांकेतिक आन्दोलन हो’, जनमञ्चका उपाधक्ष्य हर्कजंग सुब्बाले भने, ‘शरणार्थीहरुको स्वदेश फर्कन पाउने आधारभुत अधिकारको यूएनएचसीआरले ठाडो उल्लंघन गरेको छ । त्यो अधिकार बहालीको माग हामीले गरेका हौं ।’
जनमञ्चका प्रवक्ता दिल महतका अनुसार पुरानो सम्झौता अनुसार स्वदेश फिर्तीको ढोका तत्काल खोल्न, अवरुद्ध भएको भुटान र नेपाल सरकारको शरणार्थी मामिलाको वार्ता तत्काल थाल्न, वार्तामा शरणार्थी प्रतिनिधीलाई अनिवार्य रुपमा सहभागी गराउन र भुटानको जेलमा भएका आस्थाका बन्दीहरुलाई तत्काल रिहाको माग गर्दै सत्यागह्र आयोजना गरिएको हो । हालसम्म शिविरबाट १ लाख शरणार्थी तेस्रो देश पुनर्बास भइसकेको यूएनएचसीआरले जनाएको छ ।