भाद्र २२, २०७२- चिकित्सा शिक्षा र सेवाको गुणस्तर कायम राख्दै आम नेपालीसम्म पहुँच स्थापित गर्ने आन्दोलनमा लागेका प्रा.डा.गोविन्द केसीले सरकारलाई आफनो सम्झौता कार्यान्वयन नभए अगामी शुक्रवारदेखि फेरि आमरण अनसन बस्ने चेतावनी दिएका छन् ।
छैठौं आमरण अनसन तोड्ने क्रममा भएको ११ बुँदे सहमति मन्त्रिपरिषदको पहिलो बैठकबाट पास गराउने सम्झौता भएको थियो ।
माफियाले प्रधानमन्त्रीसहित मन्त्रिपरिषदलाई नै खरिद गरेको आरोप लगाउँदै डा.केसीले सोमबार बसेको मन्त्रिपरिषद् बैठकले छैठौं आमरण अनसनको सहमति पारित गराउनुको सट्टा त्यसलाई थन्क्याएर भद्रगोल कायम गर्ने नियत देखाएकोले वाध्य भएर पुन: सत्याग्रह गर्नुपर्ने स्थिति आएको जनाएका छन् ।
‘मुख्यसचिव र योजना आयोगको उपाध्यक्षले हस्ताक्षर गरेको सहमति राज्यले नमान्न खोज्नु जस्तो गैरजिम्मेवार र लाजमर्दो कुरा अरु के हुनसक्छ’, उनले भने ।
‘यो भद्रगोल परिस्थितिमा बेइमान राजनीतिज्ञहरुका आश्वासन सुनेर बस्ने हो भने अहिलेसम्मका सबै उपलब्धि गुम्नेमा शंका छैन’, डा.केसीले कान्तिपुरसँगको कुराकानीमा भने, ‘यसैले अगामी भदौं २४ गते बिहीबारसम्म सम्झौता अक्षरस पालना गर्न सरकारलाई अल्टिमेटम दिन्छु’ , सरकारले मानेन भने २५ भदौ शुक्रवार देखि पुन: आमरण थाल्नेछु ।’
डा.केसीको अल्टिमेटम अनुसार अगामी तिन दिन भित्र मन्त्रिपरिषद्ले सम्झौता ग्रहण गरेर चिकित्सा शिक्षा आयोग गठन, सिट, शुल्क र मेरिटमा भर्ना सम्बन्धी बुँदा कार्यान्वयनका लागि सम्बन्धित निकायहरुलाई निर्देशन जारी गर्नुपर्ने हुन्छ ।
मन्त्रिपरिषद्ले आफूसँग भएको सहमति पारित नगर्दा हालसम्म स्वास्थ्य शिक्षा र सेवाको क्षेत्रका सुधारको लागि हासिल उपलब्धीहरु गुम्ने स्थिति देखा परेको उनले जनाए ।
यो क्षेत्रलाई दीर्घकालसम्म सुधार्ने गरी आएका चिकित्सा शिक्षा आयोग र चिकित्सा शिक्षा नीति निर्माणको प्रक्रियालाई राज्यका जिम्मेवार व्यक्तिले अवरुद्ध पार्न खोजेको आरोप लगाउदै डा.केसीले भने–‘राज्य पक्षको बेइमानी र नालायकीको जति निन्दा गरे पनि कम हुन्छ ।’
‘राज्य विधिले नचलेर माफियाहरुको धम्की, घुर्की र घूसले चल्ने हो भने संविधान नै केका लागि बनाउने ? ’, डा.केसीले भने ।