27 C
Kathmandu
Saturday, March 6, 2021
2021 Mar 06, Saturday 10:47

TRENDING .

प्रचण्डलाई मधेसी नेताको ब्रिफिङ : मधेस आन्दोलन विखण्डनतिर जाने खतरा बढ्यो

- Advertisement -

२२ भदौ, काठमाडौं । एकीकृत नेकपा माओवादीका मधेसी नेताहरुले हाल मधेसमा भइरहेको आन्दोलनलाई विखण्डनतिर लैजाने प्रयास हुन सक्ने भन्दै पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।

prachandaफाइल तस्वीर

पार्टी नेतृत्वले कांग्रेस र एमालेसँग मिलेर संशोधन प्रस्ताव दर्ता गरेपछि असन्तुष्ट बनेका मधेसी नेताहरु मंगलबार प्रचण्ड निवास लाजिम्पाटमा पुगेका थिए ।

प्रचण्डसँगको भेटमा रामचन्द्र झा, विश्वनाथ साह, रामकुमार शर्मासहितका एमाओवादी नेताहरु उपस्थित थिए । सो जमघटमा तराई मधेसमा भइरहेको आन्दोलनबारे छलफल भएको थियो ।

‘मधेसमा कांग्रेस र एमालेबारे जस्तो धारणा थियो, अहिले प्रचण्डमाथि पनि आक्रोश बढेको छ’ एमाओवादी नेता रामकुमार शर्माले भने- ‘ १९ गतेपछि विश्वासको धागो टुट्दैछ ।’

स्रोतका अनुसार लाजिम्पाटमा भएको बैठकमा एमाओवादीका मधेसी नेताहरुले आन्दोलनरत मधेसी मोर्चाका नेताहरुको पछिल्लो अभिव्यक्ति समेत प्रचण्डलाई सुनाएका थिए ।

सोमबार जनकपुरमा भएको एक छलफलमा तमलोपा अध्यक्ष महन्थ ठाकुरले प्रदेशका लागि २६ दिन आन्दोलन गर्दा पनि राज्यले नसुनेको, बरु दमन गरेको आरोप लगाएको लाजिम्पाटमा चर्चा भभएको थियो । ३१ दिन आन्दोलन गर्दा बंगलादेश बनेको सुनाउँदै महन्थले संघीयता छाडेर अब देश बनाउनेतिर लाग्नुपर्छ कि क्या हो ? भनेको सन्दर्भ एमाओवादी नेताले प्रचण्डलाई सुनाए ।

भेटपछि एमाओवादीका एक मधेसी नेताले अलाइनखबरसँग भने-‘हिजो संघीयताका लागि लडेकाहरुले देशको कुरा गर्नु र हिजो नागरिकताका लागि लडेकाहरुले नागरिकता त्याग्ने कुरा गर्नु गम्भीर छ, हामीले पार्टी नेतृत्वलाई अझै पनि केही दिन समय छ, बेलैमा सोचौं भनेका छौं ।’

मधेसी नेताहरुले थारु समुदायको संघीयताको माग सम्बोधन गर्न आग्रह गरेका छन् । ‘मधेसका केही प्रश्नको पनि सम्बोधन गर्न आग्रह गरेका छौं’ नेता रामकुमार शर्माले भने-‘होइन भने तीन पार्टी र त्यसमा पनि यो संविधान खस बाहुन क्षेत्रीको मात्र होला र देश विखण्डनतिर जान सक्छ ।’

एमाओवादीका मधेसका नेताहरुले आन्दोलन थप हिंसात्मक बनेको भन्दै पार्टी नेतृत्वलाई थारु र मधेसको माग सम्बोधनको प्रयासमा जुट्न आग्रह गरेका छन् ।

संविधानसभामा सम्बोधन गर्ने प्रचण्डको जवाफ

पार्टी नेताहरुको चिन्ताप्रति जवाफ दिँदै प्रचण्डले संविधान नबनाई नहुने परिस्थितिको विश्लेषण सुनाएका थिए । अहिले एमाओवादी पनि पछि हट्ने हो भने संविधान नबन्ने र त्यसले संविधानसभाबाट संविधान नै नबन्ने दिशामा जाने खतरा प्रचण्डले औंल्याएको स्रोतले बतायो ।

थारु समुदायको माग सम्बोधन गर्नुपर्छ भन्नेमा पार्टी नेतृत्व सहमत भएको भन्दै प्रचण्डले आफूहरुले गरेको पहलबारे नेताहरुलाई जानकारी गराएका छन् । तर, संविधान नै बन्न नदिन भइरहेको खेलप्रति सचेत हुनुपर्ने उनले बताए ।

प्रचण्डले थारु र मधेसी समुदायको आन्दोलन र त्यसलाई सम्बोधन गर्न भइरहेको पहलबारे मंगलबार संविधानसभामा आफूले सम्बोधन गर्ने बताएका छन् ।

प्रचण्डकै आग्रहमा मंगलबार बिहान बस्ने भनिएको एमाओवादीका मधेसी नेता र सभासदहरुको बैठक रोकिएको छ । प्रचण्डले संविधानसभामा बोलेपछि बुधबार मात्रै बैठक बस्ने नेता रामकुमार शर्माले जानकारी दिए ।

ताजा खबर

- Advertisement -

Related news

3 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्