27 C
Kathmandu
Tuesday, March 2, 2021
2021 Mar 02, Tuesday 12:16

TRENDING .

सार्वजनिक यातायातको भाडा घटाउने तयारी डि जेलको भाऊ घटेपछि यात्रुलाई लाभ

- Advertisement -

२१ भदौ, काठमाडौं । सरकारले सार्वजनिक सवारीको भाडादर घटाउने भएको छ । यातायात व्यवस्था मन्त्रालयको आग्रहमा नेपाल आयल निगमले डिजलको मूल्य एक रुपैयाँ घटाएपछि यातायात व्यवस्था विभागले भाडा घटाउने तयारी थालेको हो ।

तर, सार्वजनिक सवारीमा यसपटक पनि ठूलो मात्रामा भाडा नघट्ने विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले बताए । उनले भने ‘प्रारम्भिक गणनामा १ दशमलव ७ प्रतिशत मात्र भाडा घट्ने देखिएको छ ।

तर, डेढ प्रतिशत भाडा घट्दा काठमाडौंका यात्रुलाई भने खासै फाइदा हुदैन । लामो रुटका यात्रुलाई भने केही लाभ हुन्छ ।’ मापदण्डअनुसार अहिले २ प्रतिशत पनि गाडीभाडा घटाउन नसकिने विभागको तर्क छ ।

विभागले सोमबारै भाडा घटाउने निर्णय गरेर यातायात मन्त्रालयलाई सिफारिस गर्ने तयारी गरेको छ ।

‘अहिले मापदण्डअनुसार ठूलो अन्तरमा भाडा घटाउने अवस्था छैन’ महानिर्देशक श्रेष्ठले भने- ‘कुनै रुटमा त २०/३० पैसा मात्रै घट्ने अवस्था देखियो । यसो हुँदा भाडा घट्यो भन्न त सकिएला । तर, छोटा रुटका यात्रुले त्यसको लाभ कसरी लिने ?’ लामो रुटका सवारीको भाडा भने सामान्य रुपमा केही घट्ने उनको भनाइ छ ।

डिजेल र पेट्रोलको मूल्यसहित चालकको तलबमा भएको बृद्धिदेखि सवारीमा प्रयोग हुने टायर, पार्टपूर्जा र इञ्जिन आयलसम्मका मूल्यमा आधारित भएर भाडा समायोजनको गणना गर्ने व्यवस्था छ । महानर्देशक श्रेष्ठले भने, ‘भाडा घटाउँदा पनि त्यसको परिणाम र असर खासै ठूलो नदेखिने भयो ।’

उनले थपे- ‘यसअघि कतिपय रुटमा त रुपैयाँ र पैसाको असहजतालाई हटाउन राउण्ड फिगरमा भाडा तोकिएको थियो । अहिले थोरैमात्रै भाडा घटाउँदा पैसाले रुपैयाँ नै नछुने भयो । त्यसैले अझै गृहकार्य गरिरहेका छौं ।’

यसअघि गाडीभाडा समायोजन गर्दा पैसामा राखिएको रकमलाई रुपैयाँमा सिधै उल्लेख गरिएको थियो । जसका कारण अहिले समस्या परेको छ । जस्तै १५ रुपैयाँ ४० पैसालाई यसअघि १५ रुपैयाँ नै भनिएको थियो ।

तर, अहिले त्यसमा २०/२५ पैसा घटाए पनि यात्रुले १५ रुपैयाँ नै तिर्नुपर्ने अवस्था बन्ने विभागले बताएको छ । तर, अझै अन्तिम निर्णय भने नभएको महानिर्देशक श्रेष्ठले बताए ।

यसअघि सरकारको केन्द्रीय अनुगमन तथा मूल्यांकन समितिले गाडीभाडा घटाउन निर्देशन दिएपछि भाडा समायोजनको मापदण्डको व्यवस्थाले विभाग अप्ठेरोमा परेको थियो । मापदण्डमा यसअघिको भाडा समायोजनको समय भन्दा डिजेल र पट्रोलको मूल्यमा ५ रुपैयाँ फरक परेपछि मात्रै गाडीभाडा समायोजन हुने व्यवस्था छ ।

आइतबार राति मूल्य नघट्दासम्म डिजेलको मूल्यमा अघिल्लो पटकको भन्दा ४ रुपैयाँ ५० पैसा कम भएकाले असहज भएको थियो । तर, हिजो डिजेलको मूल्य एक रुपैयाँ घटाएपछि गाडीभाडा समायोजन गर्न बाटो खुलेको महानिर्देशक श्रेष्ठले बताए ।

ताजा खबर

- Advertisement -

Related news

1 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्