27 C
Kathmandu
Tuesday, March 9, 2021
2021 Mar 09, Tuesday 07:49

TRENDING .

थारू प्रदेशमा लुम्बिनी थपिएपछि गच्छदार रुष्ट

- Advertisement -
काठमाडौं: सात प्रदेशको सीमांकन गर्दा बर्दियादेखि नवलपरासीसम्मको पाँच नम्बर प्रदेशमा लुम्बिनीका पहाडी जिल्ला थपिएपछि फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार रुष्ट भएको खुलासा भएको छ।
Bijaya_Gachhadar.1_11790281_397116205_884739990थारूका माग सम्बोधन गर्न नवलपरासीदेखि बर्दियासम्मका तराईका जिल्लामात्र राखेर प्रदेश बनाउनुपर्ने पक्षमा गच्छदार थिए। तर स्रोतका अनुसार कांग्रेस, एमाले र एमाओवादीका दोस्रो तहका प्रभावशाली नेताले पाँच नम्बर प्रदेशमा लुम्बिनीका पहाडी जिल्ला राख्नैपर्ने अड्डी कसेपछि गच्छदार रुष्ट बनेका थिए।
‘थारूको पहिचान हुने गरी प्रदेश बने म साथीहरूलाई मनाउँछु’, गच्छदारको भनाइ उद्धृत गर्दै वार्तामा सहभागी एमालेका एक नेताले भने, ‘१६ लाख थारूको पहिचान नै नहुने गरी गरिने सीमांकनमा मेरो सहमति छैन।’
६ प्रदेशबाट सात प्रदेश बनाउँदा नवलपरासीदेखि बर्दियासम्मको थारू बाहुल्य प्रदेश बने सहमतिमा आउन गच्छदार लचक बनेको ती नेताले बताए। कैलाली टुक्र्याउनुपर्ने आफ्नै पार्टीका सभासद् रामजनम चौधरी र जनकराज चौधरीको दबाबबीच पनि बर्दियादेखि नवलपरासीसम्म थारू बाहुल्य प्रदेश बने सहमतिमा आउन गच्छदार त्यतिबेला सकारात्मक देखिएको स्रोतले बतायो।
तर कांग्रेस, एमाले र एमाओवादीका नेताहरूले अखण्ड लुम्बिनी भन्दै लुम्बिनीका पाल्पा, गुल्मी र अर्घाखाँची पाँच नम्बरमा प्रदेश थपेका थिए। यो प्रदेशमा रुकुमको आधा भाग, रोल्पा, प्युठान र बागलुङको आधा भाग पनि राखिएको छ।
‘मैले पनि पाँच नम्बर प्रदेशमा लुम्बिनीका जिल्ला नराख्नुहोस्, कुरा मिल्छ भनेर शीर्ष नेतालाई भनेको थिएँ’, कपिलवस्तु २ बाट निर्वाचित स्वतन्त्र सभासद् अतहर कमाल मुसलमानले अन्नपूर्णसँग भने, ‘थारू बाहुल्य र पहिचान हुने गरी त्यो प्रदेश बनेको भए थारू समुदायलाई चित्त बुझाउने ठाउँ हुन्थ्यो। तर दोस्रो तहका नेताहरूले नमान्दा थारू समुदाय आन्दोलनमा गयो।’
पाँच नम्बरलाई थारू बाहुल्य प्रदेश बनाउन नेतृत्व तयार नभएपछि गच्छदारले कैलाली र कञ्चनपुरसम्म थारू प्रदेश हुनुपर्ने अडान लिएको वार्तामा सहभागी कांग्रेसका एक नेताले बताए। कैलाली र कञ्चनपुरलाई पनि थारूका लागि बन्ने प्रदेशमा नराख्ने र पाँच नम्बर प्रदेशमा पनि थारूको पहिचान नहुने देखेपछि गच्छदार रुष्ट बनेका थिए।
‘अखण्डको अभ्यास लुम्बिनीले गर्‍यो, दोष आयो कैलालीलाई’, समाजवादी जनता पार्टीका सभासद् प्रेमबहादुर सिंहले भने, ‘अहिले पनि थारूलाई सम्बोधन हुने गरी पाँच नम्बर प्रदेशबाट लुम्बिनीका जिल्ला हटाएर निकास निकाल्न सकिन्छ।’ लुम्बिनीका जिल्लालाई चार नम्बर प्रदेशमा राखेर थारूलाई सम्बोधन गर्नुपर्ने सिंहले बताए।
एमालेका सुदूरपश्चिमका सभासद्हरूले बर्दियादेखि नवलपरासीसम्मको प्रदेशलाई थारू समुदायको पहिचान हुने गरी सम्बोधन गर्न नेतृत्वसँग माग गरेका छन्। ‘सात प्रदेशको सीमांकनमा केही तलमाथि गरेर थारू समुदायलाई सम्बोधन गर्न सकिन्छ भन्ने हाम्रो सुझाव हो’, एमाले सभासद् प्रेम आलेले भने।

ताजा खबर

- Advertisement -

Related news

93 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्