काठमाडौँ : भनिन्छ, प्रेम अन्धो हुन्छ । हामीले नेपाली तथा हिन्दी फिल्महरुमा त्रिकोणात्मक प्रेमका दृश्य देख्दै आएका छौं । कतिपय फिल्ममा एउटा प्रेमीले ज्यान गुमाउँछन् भने कतिपयमा प्रेमिका नै जीवन त्याग्न बाध्य हुन्छिन् ।
फिल्ममा जस्तै सत्य घटना बिहीबार राति काठमाडौंको बौद्धमा भएको छ । त्रिकोणात्मक प्रेमका कारण एक युवाले ज्यानै गुमाउनुपरेको छ ।
भारतको मोतिहारी घर भएका एक युवाले आफ्नी प्रेमिकालार्इ त्याग्नुपर्ने अवस्था आएपछि बाल्यकालदेखिका आफ्ना साथीको ज्यानै लिएका छन् ।
करिब एक वर्षदेखिको प्रेमसम्बन्धमा रहेर शारीरिक सम्पर्कसमेत राख्दै आएकी आफ्नी प्रेमिकालार्इ साथीले पनि मन पराएर छोड्न दबाब दिँदा घटना हत्यासम्म पुगेको हो ।
आफूले २०७१ मंसिरदेखि प्रेम गरिरहेकी युवतीलार्इ छाड्न भनेको झोंकमा भारतको मोतिहारी घर भएका २२ वर्षीय रञ्जित शर्माले बाल्यकालदेखिका साथी २० वर्षीय मन्टु शर्माको ज्यान लिएका हुन् ।
भारतको मोतिहारीस्थित उमेशपुर घर भएका उमेश शर्माले चलाएको बौद्धको टुसालस्थित फर्निचर उद्योगमा काम गर्दै आएका रञ्जितले फर्निचर मालिकका छोरा तथा साथी मन्टुलार्इ औजार बनाउने राँबोले रोपेर हत्या गरेका हुन् ।
आफूसँग प्रेम गरिरहेकी युवतीलार्इ मन पराएर छोड्न दबाब दिँदै मन्टुले ‘कि युवतीलार्इ छोड कि मलाई मार, नत्र तँलाई मार्छु’, भनेर धम्क्याएपछि रञ्जितले सुतेकै ठाउँमा मन्टुको हत्या गरेको महानगरीय प्रहरी अपराध महाशाखाले जानकारी दिएको छ ।
फर्निचरमै काम गर्ने महिला र फर्निरचर मालिकका छोरा तथा बाल्यकालदेखिका साथी मन्टुलार्इ नदेखेपछि रञ्जित तनावमा आएका थिए । राति साढे सात बजेको समयमा दुबैजना बाहिरबाट सँगै आएको देखेपछि रञ्जित मन्टुबीच विवाद शुरु भएको थियो । उनीहरु नाताले हजुरबुबा र नाति पर्ने अनुसन्धानका क्रममा खुलेको छ ।
सोही क्रममा मन्टुले तीय युवतीलार्इ त्याग्न रञ्जितलार्इ दबाब दिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । खाना खाएर सँगै सुतेका रञ्जितले धम्कीको बदला लिन राँबोले पहिले मन्टुको घाँटीको अगाडिको भागमा रोपेको प्रहरीले जनाएको छ । त्यसपछि पुन: पातामा राँबोले रोपेर मन्टुको ज्यान लिएर राँबो फालिदिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
हत्या आरोपित रञ्जित शर्मालाई महानगरीय अपराध महाशाखाको टोलीले शुक्रबार पक्राउ गरी थप कानुनी कारबाहीका लागि महानगरीय प्रहरी वृत्त, बौद्धमा पठाएको छ ।